पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले एक दशकपछि कोही पनि वैदेशिक रोजगारीमा जानु नपर्ने अवस्थाको सिर्जना गर्नुपर्ने बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ मा बोल्दै उनले आर्थिक वृद्धिदरलाई ६ प्रतिशतभन्दामाथी निरन्तर उकासेर देशमै रोजगारीको सिर्जना गर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘वैदेशिक रोजगारीमा जानु नपर्ने अवस्था सिर्जना गर्न सकिन्छ र सक्छौँ, त्यसका केही सर्तहरू छन्, आर्थिक वृद्धिदरलाई ६ प्रतिशतभन्दामाथी निरन्तर उकास्नुपर्छ। वित्तीय स्रोत तथा साधनलाई काम र रोजगारी सिर्जनातर्फ लैजानुपर्छ। वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई श्रम बजारमा आबद्ध गर्नुपर्ने र आर्जन गरेको आय आर्जनलाई स्वदेशमै लगाउने वातावरण सिर्जना गर्नुपर्छ।’
साथै उनले नेपाल विकासशील मुलुकबाट विकसित मुलुकमा नपुग्दै अहिलेका मानिस बुढ्यौलीमै जनसङ्ख्या पुग्ने खतरा बढेको बताए।
अहिले जनसाङ्ख्यिक अवसरको लाभ लिन बल गर्नुपर्ने र यस्तो अवसर लिन सकेन भने बुढ्यौलीको जनसङ्ख्या र अर्ध विकासको अवस्थामा जोखिममा पर्ने उनले बताए।
उनले भने, ‘कुल जनसख्यांको ६५।२ प्रतिशत जनसङ्ख्या आर्थिक रूपमा सक्रिय छन्, त्यो जनसङ्ख्या २ करोड भन्दा बढी छ, ती जनसङ्ख्याले विभिन्न काम गरी आर्थिक वृद्धि गरेर ३० वर्षपछि हुने बुढ्यौलीलाई पाल्ने सक्ने अर्थतन्त्र हामीले निर्माण गर्नु पर्ने हुन्छ। विकासशील मुलुकमा रहँदा रहँदै बुढ्यौलीमै जनसङ्ख्या भएको देशमा पुग्ने खतरा छ, अरू मुलुकमा बुढ्यौली जनसङ्ख्यामा पुग्दा देश विकसित मुलुकमा पुगिसकेको छ।’
सोही अवसरमा ट्रेड युनियन कांग्रेसका महासचिव अजय कुमार राईले सम्मेलन सफलताको शुभकामना दिँदै रोजगारी अभिवृद्धिको बहस संसदमा पनि चल्नुपर्ने बताए। उनले भने,‘रोजगारी अभिवृद्धिको बहस संसदमा पनि चल्नु जरुरी छ। श्रम क्षेत्रलाई राज्यले प्राथमिकतामा राखे मात्र मुलुक समृद्ध हुनेछ,’ उनले अगाडि भने,‘राज्यले श्रमिकहरूको सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरण हुने नीति ल्याइ कार्यान्वयन गरे मात्र यस्ता खाले सम्मेलनले सार्थकता पाउने छन्।’