प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महिला न्यायाधीशहरु नेपालको न्यायालय र न्याय प्रणालीको गौरव हुनुपर्ने बताएका छन्। 
सोमबार काठमाडौँमा आयोजित दोस्रो महिला न्यायाधीश सम्मेलनमा २०८१ मा बोल्दै उनले महिला न्यायाधीशलाई नेपालको न्यायालय र न्याय प्रणालीको गौरव बनाउन आफ्नो तर्फबाट सक्ने मद्दत गर्ने बताए। 
उनले भने,‘महिला न्यायाधीशहरू नेपालको न्यायालय र न्याय प्रणालीको गौरव हुनुपर्छ। यसमा म तपाईँहरूलाई मेरो तर्फबाट जुन भूमिका निर्वाह गर्नुपर्ने हो म कुनै कसर बाँकी राख्ने छैन। न्याय सम्पादनको क्रममा अविचलित अडान राख्दा निष्पक्षता कायम गर्दा,विवेकपूर्ण निर्णय गर्दा मात्र त्यो गौरव कायम गर्न सकिन्छ। न्यायपालिको गरिमा र मर्यादा अभिवृद्धि हुन सक्छ।’
साथै उनले अहिलेको नेतृत्वले न्यायिक सुधारको एजेन्डालाई बढाएको बताए। आफैमा जटिल न्याय सम्पादनको काम महिलाको लागि झनै जटिल रहेको उनको भनाई छ। 
उनले भने,‘अहिलेको नेतृत्वले न्यायिक सुधारको एजेन्डालाई बढाएको छ। थाहा छ,न्याय सम्पादनको कार्य धेरै जटिल छ। महिलाको लागि झनै जटिल छ। किनकी महिलाले म्यानेज गर्नुपर्ने धेरै छन्। परिवार घर समय र न्याय सम्पादन म्यानेज गर्नुपर्छ। तर प्रयास गर्‍यो भने सफलता नहुने कुरा नै छैन।’
त्यस्तै सोही कार्यक्रममा बोल्दै पहिलो महिला न्यायाधीश सुशिला कार्कीले महिला न्यायाधीश भएर आउँदैमा सबै कुरा नहुने भन्दै महिला न्यायाधीशहरूको क्षमता र अध्ययन महत्त्वपूर्ण रहेको बताइन्। 
उनले भनिन्,‘अहिले धेरै महिलाहरू आउनुभएको छ। आउने वाला हुनुहुन्छ। महिला न्यायाधीश भएर आउँदैमा सबै कुरा हुँदैन। महिला न्यायाधीशहरूका क्षमता हुनैपर्छ। शाहस हुनैपर्छ। अध्ययन त झन् हुनैपर्छ।’ 
न्यायपालिका क्षेत्र जस नपाउने भएको भन्दै उनले पछाडि फर्केर कसले के भन्दै छ भन्नेसँग सरोकार नराखी इमान्दारीताकासाथ काम गर्नुपर्ने उनको भनाइ छ। 
उनले भनिन्,‘यो न्यायपालिका भनेको यस्तो क्षेत्र हो रहेछ। जहाँ काम गर्नुहोस् पछाडि फर्केर के भन्दै छ सरोकार नराख्नुहोस्। मैँले काम गरेन तर किन जस पाएन भन्ने तपाइले सोच्दै नसोच्नुहोस्। इमान्दारीता चाहिँ हुनुपर्छ।’