जिल्ला प्रहरी कार्यालय रौतहटले फागु पूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित,सभ्य र सुरक्षित रूपमा मनाउन आग्रह गरेको छ।
होली पर्व मनाउने नाममा कोही कसैलाई इच्छा विपरीत रङ्ग नदल्न, अबिर हाल्ने, लोला हान्ने तथा हो–हल्ला गर्ने कार्य नगर्न, जबरजस्ती अमर्यादित गैरकानुनी र उच्छङ्खल किसिमका कुनै पनि व्यवहार गर्ने कार्य कानुन विपरीत भएकाले त्यस्ता क्रियाकलाप रोक्न प्रहरीले आग्रह गरेको हो।
रौतहट प्रहरीले सूचना जारी गर्दै आत्मीय रूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेलौँ, भाँग, गाँजा, वा कुनै किसिमको नशालु पदार्थ सेवन नगरौँ, होली पर्वको नाममा जाँड रक्सीको सेवन गरी उच्छृङ्खल क्रियाकलापहरू नगरौँ ,असभ्य र अश्लिल होलीका गीतहरू नबजाऔँ, ध्वनि प्रदूषण हुने गरी र मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने खालको चर्को आवाजमा बाजा, माइक आदिको प्रयोग नगरौँ र साँझसम्म होली नखेल्न भनिएको छ।
होली पर्वलाई सभ्य, शिष्ट, स्वास्थ्यकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी दीपक कुमार रायले बताए।
यद्यपि कसैको इच्छा विपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहर पानी प्रयोग गरेमा कानुन बमोजिम कारबाही गरिने उनले बताए।
यात्रामा निस्किएका व्यक्तिहरू, बाटोमा हिँडिरहेका महिला तथा बालबालिकाहरूलाई होलीको नाममा दुख दिने, हैरानी दिने गरेको पाइएमा तुरुन्त प्रहरीलाई खबर गर्न उनले आग्रह गरेका छन्।
मादक पदार्थ सेवन गरी हुलहुज्जत तथा झैझगडाको घटना बढी हुने भएकाले यस्तो कार्य नगर्न उनले अनुरोध समेत गरे। यस्ता कार्यहरू गरे गराएमा जिल्ला प्रहरी कार्यालय रौतहटमा जानकारी गराउन समेत उनले अपिल गरेका छन्। होलीलाई असत्यमाथि सत्यको विजयको रूपमा हरेक वर्ष फागु पूर्णिमाका दिन मनाउने गरिन्छ। रङ्गको पर्व होलीलाई आपसी कटुताको अन्त्य र सद्भाव वृद्धिको पर्वको रूपमा पनि लिने गरिन्छ।
यही फाल्गुन २९ गते पहाडी जिल्ला र चैत्र १ गते तराईमा होली मनाइँदै छ। फागुन शुक्ल पक्षको पूर्णिमा तिथिका दिन होलिका दहन गरेसँगै होली मनाउने गरिन्छ। तर तराई भेगमा भने पूर्णिमाको दिन होलिका दहन गरेपनि भोलिपल्ट (प्रतिपदाको दिन) होली मनाउने चलन छ।