विराटनगरमा जारी विराट गोल्डकपमा आज सुदेवा दिल्ली फुटबल क्लब र सशस्त्र प्रहरी बल एपीएफबीच प्रतिस्पर्धा हुँदैछ।
विराटनगरको सहिद रंगशालामा साँझ ६ः३० बजेबाट खेल सुरु हुने छ। पाहुना टोली भारतको सुदेवा र नेपालको विभागीय टोली एपीएफबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। सोमबार राति सम्पन्न पहिलो खेलमा आयोजक मोरङ रिजालको एफएले पाहुना टोली भारतको साउथन समिति कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्यो। पाहुना टोलीलाई पन्छाउँदै मोरङ क्वार्टर फाइनलमा प्रवेश गरेको छ।
त्यसैगरी, फागुन २१ गते पहिलो क्वार्टरफाइनल खेल हुनेछ। पहिलो क्वार्टरफाइनल खेल त्रिभुवन आर्मी क्लब र उद्घाटन खेलको विजेता टिमबिच हुनेछ। फागुन २२ गते दोस्रो क्वार्टरफाइनल खेल हुनेछ। प्रतियोगितामा नेपाल पुलिस क्लबले ‘बाई’ पाएको छ। सशस्त्र प्रहरी बल (एपिएफ) र सुवेदा दिल्ली फुटबल क्लबको विजेता टिमसँग पुलिसले सेमिफाइनलमा सोझै प्रतिस्पर्धा गर्नेछ। यसैगरी, फागुन २३ गते मच्छिन्द्र र थ्री स्टार फागुन २४ गते चर्च ब्वाइज काठमाडौं र एनआरटी काठमाडौंबिच प्रतिस्पर्धा हुनेछ। फागुन २५ र २६ गते सेमिफाइनल खेल हुनेछन्। भने फागुन २८ गते फाइनल खेल हुनेछ।
प्रतियोगितामा गोल्डकपका विजेताले ११ लाख र उपविजेताले पाँच लाख नगद र सिल्ड प्राप्त गर्नेछन्। यसैगरी, सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ, उत्कृष्ट प्रशिक्षक र गोलरक्षकले १५ हजार, सर्वाधिक गोलकर्ताले १५ हजार नगद पुरस्कार पाउनेछन्। गोल्डकपमा हरेक दिनका म्यान अफ दी म्याच खेलाडीलाई पनि नगद ११ हजारले पुरस्कृत गरिनेछ।