आदिर्लिङ्ग मध्ये एक मानिने सिन्धुलीको सुनकोसी र रोसीको किनारमा रहेको कुशेश्वर महादेव मन्दिरमा शिवरात्रिको अवसरमा विशेष मेला लागेको छ।
महादेव मन्दिरको दर्शका लागि स्थानीय बाहेक, काठमाडौँ, ललितपुर, भक्तपुर, रामेछाप, दोलखा, सर्लाही, महोत्तरी, धनुषा, लगायतका विभिन्न जिल्लाका साथै भारतबाट समेत दर्शनार्थीहरु आएका स्थानीय राज मैनालीले जानकारी दिए।
मन्दिरमा दर्शन गर्न आउनेको लागि नेपाल स्काउट लगायतका स्वयमसेवकहरुले लाइन व्यवस्थापन गरिरहेका छन्। ज्येष्ठ नागरिक र असक्तहरूलाई लाइन नबसी दर्शनको व्यवस्था मिलाइएको रामेछापको सेनापति गाउँपालिका स्थानीय स्काउट प्रमुख आयुक्त राजकुमार मैनालीले बताए।
आदिर्लिङ्ग कुशेश्वर महादेवको पूजा दर्शन र हवन गरेमा तथा पितृको श्राद्ध गरे पितृ उद्धार र मोक्ष प्राप्त हुने विश्वास गरिन्छ। सुवर्ण कौशिकीको स्नानपछि कुशेश्वरको दर्शन गरेर कुष्ठरोग निको भई विरुपाक्ष पशुपतिनाथको दर्शन गर्न गएको वर्णन धर्मशास्त्रमा छ।
भक्तपुर लगायतका काठमाडौँ उपत्यकाका नेवार समुदायले कुशेश्वर महादेवलाई कूल देवताको रूपमा पुज्ने गर्दछन्। त्यसैले कुशेश्वर मन्दिरमा दर्शन गर्न तथा सतविज छर्न काठमाडौँ उपत्यका लगायतका क्षेत्रका मानिसहरू आउने गर्दछन्।
नेपाल संवत् ८९१ मा भक्तपुरका राजा जगज्जय मल्लले कुशेश्वरको भक्तिभावले राज्य पाएको कहावत छ। राजा भएपछि जगज्जय मल्लले कुशेश्वर महादेव मन्दिरमा पूजा चलाउन दण्डी बाबामार्फत झाँगाझोली खहरेको खेत तथा फलफूल बारीको व्यवस्था गरिदिएको अभिलेखमा उल्लेख छ।
राजा जगज्जयले झाँगाझोली सन्यासी गाउँको बारी र पाखोसमेत गुठी राखी ताम्र पत्रसमेत गरी दिई सो ताम्र पत्र बमोजिमको गुठी कमाई नीत्यपूजा चलाउन गिरी खानदानका बलभद्र गिरीलाई जिम्मा लगाइदिएका थिए। भूमिसुधारको समयमा फलफूल बारी बलभद्र गिरीका सन्तानले आफ्नो नाममा दर्ता गरे।
कुशेश्वर मन्दिरको नाममा रहेको धेरै खेत रोसी खोलाले बगाइदियो। यस वर्ष रोसी खोलाले मन्दिर वरिपरिको क्षेत्रमा ठुलो क्षति पुर्याएको छ।
भक्तपुरका मल्ल राजाले पनि ढुङ्गाको खम्बामाथि ढुङ्गाकै बसाहा राखी कुशेश्वर महादेवस्थानमा अर्पण गरेका थिए। उनले चाँदीका मुकुट र गहना चढाएका थिए। तिनै राजाले मन्दिरको वरिपरि गिर्जा क्याम्पा र सानो धर्मशाला पनि बनाएका थिए।
विक्रम संवत् १८३६ मा शाह वंशीय श्री ५ राजेन्द्र लक्ष्मी देवी शाहले श्री कुशेश्वर नाथमा दुम्जेश्वरी अङ्कित चाँदीको बेलपत्र र धतुरा पुण्यको माला चढाएको शिलालेखमा उल्लेख छ। श्री ५ पृथ्वीवीरबिक्रमकी बुबुधाई दुम्जाकी बिर्तावाला जनककुमारीले वि.सं १९४५ मा रुद्राक्षको माला जडिएको चाँदीको ठुलो चँदुवा तामाको जलहरी चढाई एउटा धर्मशाला बनाइदिएको अभिलेख छ।
कुशेश्वर मन्दिर परिसरमा अहिले वेद विद्याश्रम सञ्चालन गरिएको छ। सो पाठशालामा ८ कक्षासम्म औपचारिक कक्षा सञ्चालन भइरहेको छ। मन्दिरमा नित्य पूजाका साथै विशेष पूजाहरू समेत हुने गरेको छ।