सिरहा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिएको खुलेको छ।
सिरहाको नरहा गाउँपालिका–३ का वडा अध्यक्ष रुस्तम अन्सारी र वडा सचिव रामदेव मण्डलले आर्थिक चलखेल गरी भारत, बिहार, मधु बनी जिल्लाको जयनगर ग्राम पञ्चायत देउधाका मोसताक मियाँलाई नेपाली नागरिकताको लागि सिफारिस दिएको खुलेको हो। 
वडा अध्यक्ष अन्सारीकै सेटिङमा नक्कली बुवा–आमा खड्डा गरी मियाँलाई नागरिकता दिएको स्थानीयहरूको भनाइ छ। 
सग्लो अक्षर समेत नचिन्ने नरहा गाउँपालिका ३ खोरियाका अमानत मिया (नागरिकता नं. १५३०७०/८२) र उनकी पत्नी रजिना खातुन (नागरिकता नं.१५–०१–७६०१३३५) लाई वडा सचिव र वडा अध्यक्ष अन्सारीले नै नक्कली आमा/बुबा बनाई सिफारिसमा सनाखतका लागि बसेको स्थानीयहरू बताउँछन्। 
तर, अमानत मियाँ भने आफूलाई कुनै पैसा नदिएको बताउँछन्। उनी भन्छन्, ‘मेरो छोराको नागरिकता बनाउनको लागि सिफारिस लिन गएको बेला सचिवले यसमा पनि सही गरिदेऊ भनेकाले सही गरिदिएको थिएँ उनले मेरै छोरा बनाएको भन्ने मैले पछि मात्र थाहा पाएँ। मलाई सचिवले अलमल्याएर सही गर्न लगाएका हुन् मोस्ताक मेरो छोरो होइन।’
एक स्थानीयले भने पैसाको प्रलोभन उनीहरू बुवा आमा बनेको र सबै तारतम्य मिलाउने वडा अध्यक्ष आफै रहेको दाबी गरे। 
नागरिकता सिफारिस र अन्य अन्य तारतम्य मिलाउन अध्यक्ष अन्सारी र सचिव मण्डलले एक लाखभन्दा बढी भारतीय रुपैयाँ लिएको नाम नखोल्ने सर्तमा एक स्थानीयले बताए।
उनले भने, ‘वडा अध्यक्ष अन्सारीले नै जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई समेत अतिरिक्त रकम दिलाएर नागरिकता बनाइदिएको हो।’
वडा अध्यक्ष अन्सारीले त्यस दिन कार्यालयमा भिडभाड भएकाले भुलचुकमा त्यस्तो हुन गएको बताए। उनले भने, ‘त्यस दिन कार्यालयमा अलि भिडभाड थियो, सचिवले मलाई कागज दिए, मैले पनि धेरै ख्याल नगरी सही गरेर पठाइदिए। भुलचुकका कारण हुन गएको हो।’
सचिव मण्डलले भने,‘नागरिकता सिफारिसमा अध्यक्षले लगाएको तोक आदेशको आधारमा कागजपत्र मिलाएको हो। मलाई यहाँ कसको छोरो को हो भन्ने कसरी जानकारी  हुन्छ। मेरो यसमा कुनै दोष छैन।’
जिल्ला प्रशासन कार्यालय सिरहाबाट २०८० असार २६ गते मोस्ताकको नाममा जारी १५०१८०–४३६२ नम्बरको नागरिकता बनेको करिब दश दिन पछि नै स्थानीयहरूले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए। 
उजुरीमा तत्कालीन प्रशासकीय अधिकृत भवेश झाले नजिकको प्रहरी कार्यालयमा पठाइ सत्य तथ्य बुझी आवश्यक कारबाही गर्ने भनी तोक आदेश गरेको थिए। तर, आर्थिक प्रभाव र राजनीतिक दबाबका कारण अहिले सम्म दोषी उपर कुनै प्रकारको कानुनी कारबाही अगाडि बढाएको छैन।  
स्थानीयले जिल्ला प्रशासन कार्यालय सिरहाबाट मोसताक मिया नामका भारतीय व्यक्तिलाई नेपाली नागरिकता प्रदान गरिएको बारे जानकारी गराउँदा समेत जिल्ला प्रशासन कार्यालयले हालसम्म कुनै चासो नदेखाउनुले पनि तलदेखि माथिसम्मको  सबै मिलेमतो रहेको आशंका गरिएको छ। 
यस विषयमा जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक जिल्ला अधिकारी तेजराज बरालसँग बुझ्दा उनले यो घटना आफ्नो नोटिसमा नरहेको बताए । उनले भने, ‘यो विषय मेरो नोटिसमा छैन, म बुझेर तपाईँलाई जानकारी गराउँला।’