पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामा पाटनमा तालिमरत एक जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) शनिवार राती मृत भेटिएकी छिन्।  
सशस्त्र प्रहरी बलमा कार्यरत  सिन्धुपाल्चोक घर भएकी २८ वर्षीया इन्स्पेक्टर सन्तोषी महत मृत अवस्थामा भेटिएकी हुन्।
शनिवार राति ९ बजे ब्यारेकको महिला शौचालय नजिकको बीममा झुण्डिएको अवस्थामा महतको शव भेटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।  
उनको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) कुमार न्यौपानेले जानकारी दिए। उनले भने,‘उनको शवको पोष्टमार्टम भएको छ। शव अस्पतालमै छ। सशस्त्र आन्तरिक छानबिन समितिले काम गरिरहेको छ, घट्नाबारे अहिले केही भन्न सक्ने अवस्था छैन।’
न्यौपानेका अनुसार मृतकका परिवारबाट किटानी जाहेरी पर्ने भन्ने सुनेको तर जाहेरी परि नसकेको जानकारी दिए। घट्नाको थप अनुसन्धान नेपाल प्रहरीले गरिरहेको पनि उनले बताए। 
घटना अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। एकेडेमीका डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा समिति गठन गरिएको प्रवक्ता न्यौपानेले बताए।
सशस्त्र प्रहरी जवान र असई हुँदै उनी इन्स्पेक्टर भएकी थिइन्। प्रेम सम्बन्धका कारण उनले आत्महत्या रोजेको आशंका गरिएको छ।
जवानमै हुँदा २०७८ सालमा असईमा नाम निकालेकी उनले २०८१ मा निरीक्षकमा नाम निकालेकी थिइन्।