सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदालाई न्याय देऊ भन्दै जनकपुरधाममा सडक अवरोध गरी धर्ना दिइएको छ।
आइतबार जनकपुरधामस्थित जनक चोकमा संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति र दलित महिला सङ्घ, धनुषाले बाटो अवरोध गरी धर्ना दिएका छन्।
उनीहरूले दलितमाथि बारम्बार ज्यादती भइरहँदा पनि सरकार मौन बसेको भन्दै सरकारविरुद्ध नाराबाजीसमेत गरेका छन्।
धर्नामा बसेकाहरूले मधेस प्रदेशका मुख्यमन्त्रीले रिंकु सदाको विषयमा कुनै चासो नदेखाए भन्दै आक्रोश व्यक्त गरेका छन्। अनुगमनको नाममा जिल्ला जिल्ला पुग्ने मुख्यमन्त्री सिंहलाई एउटा तल्लो जातको दलित समुदायको घर पुग्न अप्ठ्यारो लागेको हो की भनेर उनीहरूले प्रश्न गरेका छन्।
उनीहरूले मानव अधिकार आयोग, महिला अधिकार आयोग र मधेसी आयोगले अहिलेसम्म कुनै चासो नराखेको भन्दै आक्रोश जाहेर गरेका छन्।
उनीहरूले रिंकु सदालाई बलात्कार गर्ने तीनै जना र यस घटनाको मिलापत्र गर्न बसेका पञ्चलगायत सम्पूर्ण अपराधीलाई कडा भन्दा कडा सजाय नदिए विरोध गरिरहने चेतावनी दिएका छन्।
धर्ना पश्चात् उनीहरूले जनकपुरधाममा सरकार विरोधी नारा लगाउँदै विभिन्न चोकमा जुलुस निकालेका थिए।
रिंकुकुमारी गएको माघ ३० गते बेलुका ७ बजेतिर आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। त्यसअघि उनले गाउँकै तीन जना केटाले आफूलाई बलात्कार गरेको जानकारी दिएपछि गाउँमै पञ्चायत बसी तीनै जना केटासँग १ लाख ५० हजार रुपैयाँ तिराउने निर्णय भएको थियो। सो निर्णय रिंकु र उनको परिवारलाई मन परेको थिएन।