राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले ताप्लेजुङको पाथीभर (मुकुम्लुङ) मा केबलकार निर्माणका कार्यहरू तत्कालका लागि रोक्न माग गरेकी छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तत्काल निर्माण कार्य रोकी आन्दोलनरत पक्षसँग वार्ता गरी सहमति गर्न र थुनामा रहेका नागरिकलाई तत्काल रिहा गर्न माग गरेकी हुन्।
उनले भनिन्,‘पटक पटक प्रहरी प्रशासन र नागरिकबीच झडप हुने, आन्दोलनकारीहरू घाइते हुने हुँदै आइरहेको छ। गोलीसमेत चल्ने र करोडौँको क्षति हुने गरेको छ। हिजो मात्र त्यहाँ अशान्त र असामान्य स्थिति देखापर्यो। अहिले निषेधाज्ञा लागेको छ। यसरी राज्यको अर्कमर्णयताका कारण नागरिकहरू ‘एस’ केबलकार र ‘नो केबलकार’ को रूपमा विभाजित भएका छन्। अराजक भएका छन्। आक्रोशित छन्। तर,सरकारले उचित निकास दिन सकेका छैनन्। समाजवादको नारा भजाउने पार्टीहरू नै सरकारमा छन्, ‘सरकारले जनताप्रति देखाएको अभिभावकत्व यही हो त ? त्यहाँ संरचनहरु बनाउँदा विवादरहित बनाउने पर्ने दायित्व त्यहाँको सम्बन्धित आयोजना समिति र राज्यको हो। तर, त्यसो भएन। यसअघि पनि सम्झौता भएको थियो। त्यसो हुन सकेन। माघ २२ गते पनि सम्झौता भयो, कार्यान्वयन हुन सकेन। निशर्त रिहा गर्ने भनिएकोमा धरौटीमा रिहा गरिएको छ। सहमति उल्लङ्घन भएको छ। नागरिकप्रति विश्वास डगमगाएको छ। जुन ठाउँमा विकास निर्माणको काम हुँदैछ। त्यही ठाउँमा नागरिकलाई लाठी प्रहार गरेर, नागरिकमाथि गोली प्रहार गरेर, जनता मारेर गरिने विकासलाई विकास भन्ने कि विनाश ? हामी समग्र पार्टीको तर्फबाट यो निर्माण कार्य तत्काल रोक्न माग गर्दछौँ।’
साथै उनले आन्दोलनकारी र सरकारबीच भएको सहमति सरकारले उल्लङ्घन गरेको बताइन्। आन्दोलनकारीलाई गोली हानेर विकास नहुने उनको भनाइ छ।