राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पाथीभरा क्षेत्र अशान्त भएको र एक प्रकारले रणमैदानमा परिणत भएको बताएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद लिङ्देनले उनले पाथीभरा केबलकारको विषयलाई राज्यले किन अन देखा गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र मानवअधिकार आयोगसमक्ष प्रश्न गरेका हुन्।
उनले भने, ‘आज पूर्व पाथीभरा अर्थात् मुकुमलुङ क्षेत्र अशान्त भइरहेको छ। एक प्रकारले रण मैदानमा परिणत भइरहेको छ। प्रधानमन्त्रीले, गृहमन्त्रीले त्यो भिडियो हेर्नु भएको छ कि छैन ? त्यो समाचार सुन्नु भएको छ की छैन ? राजनीतिक दलहरूले पनि त्यो विषय किन अन देखा गरेको। मानवअधिकार आयोगले कि अन देखा गरेको यो मेरो प्रश्न हो। आज एउटा व्यापारिक स्वार्थको लागि किन भाइभाई लडाउने काम भरहेको छ, किन मन्त्री स्तरको वार्ता गर्न सरकार तयार छैन, मान्छे मरेपछि मात्रै वार्ता गर्ने हो र ? सरकार जसले लामो समयदेखि योजनाबद्ध ढङ्गले पाथीभरा क्षेत्रलाई व्यापारीको हातमा दिनको लागि योजनाबद्ध रूपमा काम गरिरहेको छ भन्ने कुरा मानिसलाई थाहा छ। अहिलेको प्रधानमन्त्रीको नेतृत्वमै सरकार भएको बेला कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट पाथीभरालाई अलग गरियो, लगत्तै व्यापारीलाई केबलकार बनाउन दिने निर्णय गरियो। तर, जनताले विरोध गरिरहेको अवस्था छ। सरकारले सारा शक्ति लगाएर निर्माण गर्न खोजिरहेको छ। त्यो काम अविलम्ब गर्नुपर्छ।’
उनले गणतन्त्र लुटतन्त्रमा परिणत भयो भने आफूहरूले निरन्तर रूपमा विरोध गरिरहने उद्घोष गरे।
उनले भने,‘म नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ र राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ। गणतन्त्रको विरोध गर्नु भनेको प्रजातन्त्रको विरोध गर्नु हो भन्नेजस्तो जुन यहाँ कुरा राखियो। गणतन्त्र लडेर ल्याएको होस् अथवा विदेशीको बुई चढेर ल्याएको होस्, त्यो गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने हामी निरन्तर रूपमा विरोध गरिराख्छौँ।’