ताप्लेजुङको सदरमुकाम फुङलिङमा ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीच भएको झडपमा दुवैतर्फका गरी दुई दर्जन भन्दा बढी घाइते भएका छन्।
घाइतेमध्येका ४ जनालाई थप उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालले रेफर गरी धरानको घोपा लगिएको छ। प्रहरी नायव उपरिक्षक (डीएसपी) रवि रावलका अनुसार सुरक्षाकर्मीतर्फ १२ जना घाइते छन्।
उनीहरू मध्येका एक जनालाई जिल्ला बाहिर पठाइएको छ भने अरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। आन्दोलनत समूह तर्फपनि त्यति नै सङ्ख्यामा घाइते भएको प्रारम्भिक जानकारी रहेको छ। रातको समयमा झडप भएको र कतिपय जिल्ला बाहिर गएर पनि उपचार गराइ रहेकाले यकिन तथ्यांक भई सकेको छैन। प्रहरीले हुलहुज्जत गरेको अभियोगमा १५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेमा आन्दोलनको अगुवाई गरिरहेका नविन पोमु लगायत रहेका छन्। तर प्रहरीले नाम भने खुलाएको छैन। हुल हुज्जत नियन्त्रणका लागि शनिवार बेलुका २ राउण्ड अश्रु ग्यास प्रहार गर्नु परेको प्रहरीले जनाएको छ।
आन्दोलनरत पक्षले भने आन्दोलनकारी बसेको घर तथा होटल छापा मारेर कुटपिट तथा तोडफोड गर्ने जस्ता अमानवीय व्यवहार गरेको आरोप लगाएका छन्। स्थानीय प्रशासनले आइतबार बिहान ५ बजेबाट फुङलिङ र पाथीभरा क्षेत्रको काफ्लेपाटी र बलुडाडा क्षेत्रका चारकिल्ला तोकी निषेधाज्ञा ज्ञारी गरेको छ। गएसाँझ नो केवलकार पक्षले फुङलिङमा आयोजना गरेको राँके जुलुस र प्रदर्शनपछि भएको झडपसँगै स्थिति तनावपूर्ण भएको थियो। आन्दोलनरत पक्षले भने झडपपछि पनि घर–घर घेरा हालेर सुरक्षाकर्मीले धरपकड तथा कुटपिट गरेको भन्दै आपक्ती जनाएका छन्।