अडिसनबाट छनोट हुँदै ‘रणवीर’ सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गरेकी सुपुष्पा भट्ट ‘फेरि रेशम फिलिली’बाट सिल्भर स्क्रिनमा फर्किंदै छिन्।
सिनेमा आर्टको ब्यानरमा निर्माण भएको सिनेमा उनको होम प्रोडक्सन हो। सिनेमाका निर्माता उनका पति रौनक विक्रम कँडेल हुन्।
सिनेमा रिलिजका लागि केही दिनहरू मात्र बाँकी छन्। रिलिज मिति नजिकिँदै गर्दा सिनेमाका बारेमा गफिँदा सुपुष्पामा सिनेमा र सिनेमामा आफूले गरेको कामप्रति ‘फिङ्गर क्रस’ भाव देखिन्थ्यो। 
यद्यपि, कुराकानी बढ्दै जाँदा सिनेमा राम्रो बनेकोमा उनी ढुक्क भएको महसुस गर्न सकिन्थ्यो। सिनेमामा ‘फिलिली गर्ल’ बन्दै छु भन्ने थाहा पाउँदा उनलाई कस्तो लागेको थियो त ?
सुपुष्पा भन्छिन्,’सबैभन्दा माथि पुगेजस्तो भयो। एकदमै खुसी लागेको थियो। प्रोडक्सन हाउस राम्रो, निर्देशक मेहनती, स्क्रिप्ट राम्रो र बलियो छ भन्ने थाहा भएकाले हो। राम्रो सिनेमामा काम गर्न पाए भनेर खुसी भए।’
निर्देशक निरोज महर्जनले लेखेको सुपुष्पाको चरित्रका लागि कस्तो देखिने र कुन नेपथ्यको हो भनेर जस्तो प्रकारले लेखेका थिए, त्यसमा सुपुष्पा ठ्याक्कै फिट हुन्थिन्। त्यसैले उनले अरूलाई खोज्ने कष्ट गरेनन् पनि। यो सिक्वेलमा लगभग पहिलो श्रृंखलाका सबै कलाकार छन्। यो सिनेमाको लिडिङ महिला पात्रमा भने उनी नयाँ अनुहार बनेर आएकी छिन्। त्यसैले उनलाई पहिलो सिनेमाको चुनौती सामना गर्ने चुनौती छ। 
सिनेमा फागुन १४ गते शिवरात्रिका दिन रिलिज हुँदैछ। सिनेमामा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रवीन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको पनि अभिनय छ।
सुसन प्रजापतिको छायाङ्कन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बास्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइबा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ।
सिनेमा आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह–निर्मातामा एनि थापा छन्। पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले गरेका हुन्। गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दै छन्।