रौतहट ट्राफिक प्रहरीले एक महिनाको अवधिमा १३ लाख रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको छ। माघ १ गतेदेखि माघ मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गरेका सवारी चालकलाई कारबाही गरी राजस्व सङ्कलन गरेको हो। यस अवधिमा १३ सय ५५ सवारी चालकलाई कारबाही गरिएको छ।
१३ लाख ३ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले जानकारी दिए। उनका अनुसार पछिल्लो समयमा सवारी चेकजाँचमा कडाइ गरिएका कारण राजस्व सङ्कलनमा वृद्धि भएको हो।
पूर्वपश्चिम राजमार्ग र चन्द्रनिगाहपुर गौर सडक खण्डमा प्रायः सवारी चेकजाँच गर्ने गरेको उनले बताए। सवारी जाँचका क्रममा चालकले मदिरा सेवन (मा.प.से) गरी गाडी चलाएको, ओभर लोड गरेको, सिट बेल्ट वा हेलमेट नलगाएको, सवारीका कागजपत्र साथमा नबोकेको, सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको, रुट परिमिट नलिएको, बत्ती बिग्रिएको जस्ता सवारीलाई कारबाही गरिएको उनको भनाइ छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक अभियान पनि सञ्चालन गर्दै आएको छ। आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म ३ सय ८५ वटा सवारी दुर्घटनामा ३१ जनाले ज्यान गुमाए भने ६१० जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको तथ्याङमा उल्लेख छ। ट्राफिक प्रहरीले जिल्लाका विभिन्न पालिका अन्तर्गतका विद्यालयमा दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम समेत गर्दै आएको छ।