माघ महिनाको तेस्रो साता बितिसक्दा पनि मुगुलगायत जुम्ला, डोल्पा, कालीकोट, हुम्ला जस्ता हिमाली जिल्लामा हिमपात नहुँदा कृषकले लगाएको हिउँदे अन्नबाली खेतमै सुक्न थालेको छ। जसका कारण भोकमरीको त्रास थपिएको छ।
मुगुसहित हिमाली जिल्लाका कृषकहरूले लगाएको हिउँदे अन्नबाली जै, गहुँ, उवा, तरकारी स्याउका बिरुवा खडेरीका कारण केही किसानले बाली नउम्रने जग्गा खाली भएका छन् भने उम्रेको अन्नबाली खेतबारीमै सुक्न थालेको छ।
विगतका वर्षहरूमा पुस, माघ महिनामा धेरै हिउँ पर्ने भएकाले खेतबारी ओसिलो भइरहने र अन्नबाली फस्टाउने गरेको थियो। तर यस वर्ष हिउँ नपर्दा खेतबारीमा लगाएको अन्नबालीसहित ,बनजङ्खल समेत सुख्खा भएका छन्।
सिँचाइका लागि कुलो नहर नभएको, खेतीयोग्य जमिन सबै आकाशे पानीको भरमा खेती गर्नुपर्ने अवस्था रहेको छ। हिउँ पानी नपर्दा बाली नफस्टाउने भएकाले भोकमरी हुनसक्ने सम्भावना रहेको छायानाथ रारा नगरपालिका–९ मुर्माका कृषक बीर्खबहादुर सोकायाले बताए।
मुगु जिल्लामा १७ सय ८५ केक्टर क्षेत्रफलमा खेतीयोग्य जमिन लगाएको अन्नबालीमध्ये ७० प्रतिशत भन्दा बढी आकाशे हिउँ पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ।
विगत तीन चार वर्ष यता बेला मौका पानी नपरेकाले समस्या भोग्दै आएका कृषकहरू यसबर्ष माघ महिनाको तेस्रो साता बितिसक्दा पनि हिउँ र पानी नपर्दा कृषक तनावमा छन्।
सरकारले साना सिँचाइका कार्यक्रम सञ्चालन गरेपनि त्यो अपुग भएको छ। विशेष गरी पछिल्लो समय जलवायुको प्रत्यक्ष असरका कारण हिउँ–पानी नपरेको, पानीका मुहानहरू सुक्दै गएकाले कृषकलाई समस्या भएको जिल्ला कृषि विकास कार्यालय मुगुका कृषि प्रचार अधिकृत तथा सूचना अधिकारी अनुज कुमार मण्डलले बताए।