प्रधानमन्त्री केपी शर्मा ओलीले एकातिर प्रक्रिया र अर्कोतिर नतिजा सुधारको हुटहुटीले बनेको सरकार भएका कारण संसद्को अधिवेशन पर्खने समय आफूहरूसँग नभएर अध्यादेश ल्याएको बताएका छन्।
शुक्रवारदेखि सुरु भएको संसद्को हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले अध्यादेशबारे धेरै प्रश्न उठिरहेको भन्दै संसद्को नियमित प्रक्रियाबाट राष्ट्रिय अपेक्षा प्राप्तिमा ढिला हुने अवस्था देखिएको भन्दै यस्तै बेलामा नै सरकारले अध्यादेश ल्याउने स्पष्टीकरण दिए।
उनले भने,‘जनताले कहाँ कहाँ, कुन कुन कानुनको अल्झनले दुःख पाइरहेका छन्। ती अल्झन र गाँठाहरू तत्काल फुकाउन कानुनी सुधार नै पहिलो पाइला थियो। नियमित प्रक्रियाबाट कानुन पारित गरी लागू गर्न न्यूनतम ५–६ महिना लाग्ने सबैलाई थाहा छ। एकातिर प्रक्रिया र र अर्कोतिर नतिजा सुधारको जुन हुटहुटीले संसद्को दुई ठुला दलहरूको नेतृत्वमा सरकार निर्माण भयो। त्यसले संसद्को अधिवेशन आउँदै छ, पर्खनुहोस् भन्ने समय हामीसँग थिएन। संसद् नभएको बेला संसद्को नियमित प्रक्रियाबाट राष्ट्रिय अपेक्षा प्राप्तिमा ढिला हुने अवस्था छ यस्तै बेलामा त हो सरकारले अध्यादेश जारी गर्ने।’
त्यस्तै उनले सबैले एउटा राजनीतिक लाभहानीको लेखाजोखा गरी संसद्लाई प्रक्रियाको बन्दी बनाउँदा जनताको दैनिक समस्या ओझेलमा पर्ने बताए। एउटै गन्तव्यका लागि जनताले छानेर यहाँ पुर्याएको भन्दै उनले संसदमा पो पक्ष वा विपक्ष त देश विकासमा सुशासनमा पक्ष विपक्ष हुन्छ ? भन्दै प्रश्न गरे।
उनले भने,‘हामी सबैले एउटा राजनीतिक लाभहानीको लेखाजोखा गरी संसद्लाई प्रक्रियाको बन्दी बनाइन्छ र जनताको दैनिक समस्या ओझेलमा पर्छन्। संसद् छलेर किन अध्यादेश ल्याएको भनेर सोध्नेहरुलाई सबै कुरा थाहा छ। अध्यादेश ल्याउने भनेको नै संसद् नचलेको बेलामा नै हो। संविधानले नै त्यही व्यवस्था गरेको छ होइन र ? हामी संसदमा पो पक्ष विपक्ष हो त। देश विकासमा सुशासनमा पक्ष विपक्ष हुन्छ ? एउटै गन्तव्यकालागि जनताले छलेर हामीलाई यहाँ पुर्याएका छन्।’