सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आइटी क्षेत्रमा नेपाल साउथ एसियामा सबैभन्दा पछाडि परेको बताएका छन्। 
बिहीबार नेपाल चेम्बर एक्सपो २०२५ को उद्घाटन कार्यक्रममा बोल्दै उनले आइटी क्षेत्रमा नेपाल पछाडि परेको र यस वर्षभित्र आइटी क्षेत्रमा ए–आइको पोलिसीमा काम गर्ने बताए। 
उनले भने,‘आइटी क्षेत्रमा नेपाल साउथ एसियाको सबैभन्दा पछाडि परेको छ। यस वर्षभित्र आइटी क्षेत्रमा कृत्रिम बौद्धिकता एवम् आट्रिफिसियल इन्टेलिजेन्स९एआई०को पोलिसीमा काम गर्छौ र यस सम्बन्धी ऐन पनि बनाउँछौ।’
मन्त्री गुरुङले आइटी क्षेत्रको विकासको लागि नलेज पार्क, आइटी पार्क, ए आइ अनुसन्धान केन्द्रको निर्माण गर्ने पनि बताए।  
उनले भने,‘आइटी क्षेत्रको समस्या समाधान गर्नको लागि पोलिसी प्रोग्राम, ऐन सबै बनाएपछि समस्या समाधान गर्दै आइटी क्षेत्रको संरचनाहरु कसरी विकास गर्ने भन्नेमा केन्द्रित हुनेछौँ। यसका लागि पूर्वधारको तयारी गरिरहेका छौ। नलेज पार्क, आइटी पार्कको निर्माण गर्ने साथै ए आइ अनुसन्धान केन्द्रको निमार्ण गर्नेछौ। यसलाई हामीले सबै प्रदेशहरूमा गर्ने छौ। यसको सुरुवात हामीले काठमाडौँबाट गर्छौ।’
मन्त्री गुरुङले आइटी क्षेत्रको संरचनाको अभावका कारण व्यवसायीहरूले काम गर्न नपाएको पनि बताए।