वि.सं.२०५२ सालमा ट्रयाक खोलिएको दुलेगौडा–हर्कपुर सडक १०.१८ किलोमिटर सडक कालोपत्र २०७८ माघ १० गते भित्र सम्पन्न गर्ने गरी एमएस शंकरमाली निर्माण सेवाले विसं २०७६ कात्तिक ४ गते सम्झौता गरेको थियो।
२५ करोड १० लाख ६० हजार रुपियाँ लागतमा निर्माण सम्पन्न गर्ने भनिएको उक्त सडक हालसम्म ४१ प्रतिशत निर्माण सम्पन्न भएको छ। दुई वर्ष अघि नै निर्माण सम्पन्न हुनुपर्ने उक्त सडक निर्माण गर्न अहिले आगामी असारसम्म म्याद थप भएको छ।
यसैगरी गत वर्षको जेठ २० गते निर्माण सम्पन्न भइसक्नुपर्ने शुक्ल गण्डकी–५ र ८ स्थित बेलचौतारा–मुस्ताङ क्याम्प जोड्ने मोटरेबल पुलको एक स्पान मात्र ढलान भएको छ। पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख तिवारीलेका अनुसार , कामको प्रगति करिब ३० प्रतिशत मात्र छ। 
तर मूल्य अभिवृद्धि सहित १५ करोड ५९ लाख रुपैयाँमा निर्माण सम्झौता गरेको निर्माण कम्पनी महावीर खिम्ती अञ्जना पराजुली जेभीले हालसम्म आठ करोड १३ लाख रुपियाँ भुक्तानी लिई सकेको छ र काम सम्पन्न गर्न २०८२ मङ्सिर २० सम्म म्याद थप भएको छ।
ठेक्का अवधि सकिँदा पनि हालसम्म निर्माण सम्पन्न हुन नसकेका यी दुई पुलको बुधवार गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर केसीले अनुगमन गरे र निर्माण व्यवसायीका कारण ढिलाइ भएका ती योजनाहरूलाई काममा गति दिन निर्माण व्यवसायीलाई निर्देशन दिए।
त्यस अवसरमा दुलेगौंडा हर्कपुर मोटरमार्ग उपभोक्ता समितिका पूर्व अध्यक्ष देऊ बहादुर गुरुङले यस क्षेत्रकै सबैभन्दा पुरानो सडक समयमै सम्पन्न नहुँदा स्थानीय र यात्रुले धुलो र हिलोको मार खेपेको बताउँदै चाँडो सम्पन्न गराउन ध्यानाकर्षण गराएका थिए।
निर्माण व्यवसायी श्याम लामाले कोभिडसँगै निर्माण कम्पनीलाई आर्थिक रूपमा नोक्सान परेको बताउँदै आर्थिक समस्याका कारण काम सम्पन्न गर्न समस्या परेको बताए। उनले कामदारको सङ्ख्या बढाएर समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाए।