खानेपानी मन्त्रालयले खानेपानी तथा सरसफाई कार्यान्वयन तथा क्षेत्रगत लक्ष्य प्राप्तिका लागि भावी नियमावली, २०८१ को कार्यदिशा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ। 
मङ्गलवार खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाई नियमावली २०८१ राजपत्रमा प्रकाशित भएसँगै जानकारी गराउन अन्तरक्रिया कार्यक्रम गरिएको बताए।
उनले भने, ‘खानेपानी तथा सरसफाई नियमावली २०८१ राजपत्रमा यहीँ माघ १० गते  प्रकाशित भइसकेको छ। सोही विषयमा जानकारी गराउन अन्तरक्रिया गरेका हौँ। खानेपानी क्षेत्रमा चाहिँ काम गर्ने विभिन्न विकास साझेदारका प्रतिनिधिलाई बोलाएर जानकारी गराएका छौँ। सन् २०३० सम्म आधारभूत खानेपानी दिने सम्पूर्ण नागरिकलाई हाम्रो दायित्व पनि हो।’
खानेपानी तथा सरसफाई कार्यान्वयन तथा क्षेत्रगत लक्ष्य प्रातिको लागि भावी नियमावली, २०८१ को कार्यदिशा यस्तो छ :
१. नेपालको संविधानले स्वच्छ खानेपानी तथा सरसफाइको पहुँचलाई नागरिकको मौलिक हकमा राखेको छ। 
२. वि.सं. २०७९ सालमा खानेपानी तथा सरसफाइ ऐन आइसकेपछि लामो समयपछि मिति २०८१ माघ १० गते सो को नियमावली पनि आइसकेको
३. नेपालको आर्थिक अवस्था पनि राम्रो नरहेको र खानेपानी तथा सरसफाइ क्षेत्रको बजेट घट्दो क्रममा रहेको छ।
४. सन् २०३० सम्ममा स्वच्छ खानेपानी तथा सरसफाइको सेवामा पहुँच पुर्‍याउने दिगो विकास लक्ष्य नं। ६ हासिल गर्ने कुरामा नेपाल धेरै पछाडि रहेको
५. आवधिक योजनाहरूले निर्धारण गरेको लक्ष्य कहिल्यै पुरा नहुने गरेको र आ.ब. २०८५–८६ सम्म पुरा गर्नुपर्ने सोह्रौँ योजनाको लक्ष्य पुरा गर्न ज्यादै चुनौतीपूर्ण देखिन्छ।
६. क्षेत्रगत लक्ष्य पुरा गर्न आवश्यक बजेटको तुलनामा नेपाल सरकारबाट विनियोजित बजेट ज्यादै कम हुने गरेकोले दात्री निकाय, विकास साझेदार र गैर सरकारी क्षेत्रबाट आगामी दिनमा खानेपानी तथा सरसफाइमा अधिकतम लगानी हुन जरुरी रहेको
७. नेपाललाई खुला दिसामुक्त घोषणा गर्न तपाई हामी सबै जसरी हातेमालो गरेर गरेर वि.सं. २०७६ सालमा जसरी सफल पारेरै छोड्यौ, त्यसैगरी
८. गुणस्तरीय खानेपानी र सुरक्षित सरसफाइमा तपाईँहरूको सहयोगको टड्कारो आवश्यकता छ।
९. नेपाल सरकार यस अभियानको नेतृत्व गर्न तयार छ, ३ वटै तहको समन्वय र सहकार्यमा सबै नेपालीको घरघरमा स्वच्छ खानेपानीको धारा र सुरक्षित सरसफाइको पहुँच के कसरी पुर्‍याउन सकिन्छ, यहाँहरूको उचित राय सुझाव तथा सहयोगको हामीले अपेक्षा गरेका छौँ।
१०. दिगो विकास लक्ष्य पुरा गर्नु तपाई हामी सबैको साझा दायित्व भएकोले यहाँहरूले आजको १ दिने कार्यक्रममा सक्रिय रूपमा सहभागी हुनु हुनेछ भन्ने विश्वास लिएको छु।
११. विशेष गरी विभिन्न विषयहरूमा तय गरिएको समूह कार्यहरूबाट यस क्षेत्रलाई कसरी अघि बढाउन सकिन्छ, सो कुरामा गहन छलफल होस् र यस क्षेत्रलाई प्रभावकारी बनाउन यहाँहरूबाट अत्यन्त महत्त्वपूर्ण सुझाव उपलब्ध होस् भन्ने चाहन्छु।