मुगु आयुर्वेद कार्यालयले गमगढीमा सञ्चालन गरिएको पायल्स, फिसर फिष्टुला रोगका बिरामीहरूका लागि तीन दिने स्क्रिनिङ तथा उपचार शिविरमा चेकजाँच गर्दा सबैभन्दा बढी पायल्सका बिरामीहरू फेला परेका छन्।
छायानाथ रारा नगरपालिका र आसपास क्षेत्रमा बस्दै आएका स्थानीय तीन सय १४ जनाको चेकजाँचमा तीन दिनमा ८५ जनाको पायल्स९मलद्वारमा समस्या०का बिरामी भेटिएका थिए।
जसमध्ये दुई जना महिलाको पायल्सको अप्रेसन गरिएको छ भर्ने एक जना पुरुषको फिष्टुलाको अप्रेसन गरिएको छ। अन्य चेकजाँचमा आएका बिरामीहरूलाई स्वास्थ्य सुधारका लागि आवश्यक सुझाव सल्लाहसँगै आवश्यकता अनुसारको औषधी निःशुल्क दिएको जिल्ला आयुर्वेद केन्द्र मुगुका कार्यालय प्रमुख लक्ष्मी प्रसाद पाण्डेले बताएका छन्।
कार्यालय प्रमुख पाण्डेका अनुसार पछिल्लो समय बजारमा पाइने तयारी खाद्य बस्तुबाट बनाएका परिकार, विषादीयुक्त तरकारी, चिल्लो पिरो लगायतका खानपानका कारण मानिसहरूको समस्या देखिने गरेको छ।
खानपानकै कारण पायल्स, फिसर, फिष्टुलालगाएतका विभिन्न जटिल प्रकारका रोगहरू लाग्ने गरेको उनले बताए।
विगत दुई वर्षदेखि फिस्टुला (भगन्दर) भएर दिशा गर्दा समस्या हुने, मलद्वारबाट रगत बग्ने, मलद्वारको मुखमा साना डल्ला मासु जस्तै निस्किएर बस्न, हिँडडुल गर्न पनि समस्या भएको थियो तर जिल्ला आयुर्वेद केन्द्रले सञ्चालन गरेको शिविरमा चेकजाँच गराएर अप्रेसन गराएपछि आराम भएको छायानाथ रारा नगरपालिका–१२ का तीर्थ रोकायाले बताए।
उनले भने,‘उपचारको लागि सुर्खेत, नेपालगन्ज, काठमाडौँ जानुपर्ने हुँदा ठुलो आर्थिक खर्च हुने तर जिल्लामा उपचार हुँदा आर्थिक बचत भएको छ।’ यस्तै एक वर्षदेखि पायल्स रोगबाट पीडित छायानाथ रारा नगरपालिका–५ भामबाडा बस्ने अप्सरा भामको पनि जिल्ला आयुर्वेद केन्द्र मुगुमा निःशुल्क औषधीसहित अप्रेसन भएकोमा खुसी व्यक्त गरिन्।