नेपाली किक्रेटर सन्दीप लामिछानेको फेसबुक पोष्टले यति बेला आम खेलप्रेमीबीचमा कौतुहलता ल्याएको छ। मध्यराति आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्ट लेख्दै उनले सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।
लामिछानेले गए राति सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेगस्पीनर लामिछानेले गए राति ११ बजे सामाजिक सञ्जालमा गरेको पोस्टले यति बेला धेरैको ध्यान तानेको छ।
लामिछानेले लेखेका छन्, ‘यी सबै कुराको लागि सबै जनालाई धन्यवाद। यो देश र यहाँका क्रिकेट समर्थकहरूले सधैँ मेरो समर्थन गर्दै मेरो यात्रामा निरन्तर साथ दिनुभएको छ । तपाईँहरूको यो माया र हौसला मेरा लागि सब थोक हो। जसले सधैँभरि मेरो हृदयमा विशेष स्थान बनाइरहनेछ।’
अङ्ग्रेजी भाषामा सामाजिक सञ्जालमा गरिएको पोस्टमा उनले नेपालका आफ्ना समर्थकहरूप्रति कृतज्ञता प्रकट गरेका छन्। कतिपयले यसलाई सन्दीपले खेलबाट सन्यास लिन लागेको अड्कलबाजी पनि लगाएका छन्।