विद्याकी देवी सरस्वतीको पूजा नजिकिँदै जाँदा रौतहटमा कुमालेहरू मूर्ति बनाउन व्यस्त देखिएका छन्।
सरस्वती पूजामा सरस्वतीको मूर्ति आवश्यक पर्ने भएकाले सदरमुकाम गौरका विभिन्न ठाउँमा सरस्वती माताको मूर्ति बनाउन अहिले कालीगढहरु सक्रिय छन्। 
हिन्दु परम्परा अनुसार माता सरस्वतीको पूजा गर्न अधिकांश सामुदायिक, निजी विद्यालय तथा शैक्षिक सङ्घसंस्थाले मूर्ति नै स्थापना गरी पूजा अर्चना गर्ने गर्दछन्। सरस्वतीको मूर्ति बाँस, पराल, माटो र रङ्गको संयोजन गरेर बनाउने गरिन्छ। सरस्वती पूजा धार्मिक परम्परा भए पनि त्यसभित्र ठुलो व्यवसाय लुकेको मूर्तिकारहरू बताउँछन्। 
यो समयमा मूर्तिबाट राम्रो आम्दानी लिने गरेको गौरका मूर्तिकार शिव कुमार पण्डितले बताए। एउटा सरस्वतीको मूर्तिको पाँच हजारदेखि १५ हजार रुपैयाँसम्ममा विक्री गर्ने गरेको उनले जानकारी दिए।
सरस्वती पूजाको अवधिभरमा करिब एक लाख ५० हजार भन्दा बढी रुपैयाँसम्मको आम्दानी गर्ने गरेको उनले बताए। आफूले आकर्षक मूर्ति बनाउने गरेका कारण अहिले  विभिन्न विद्यालयबाट अर्डर आएको उनको भनाइ छ। 
विशेष गरी दुर्गा पूजा, विश्वकर्मा पूजा, कृष्ण जन्माष्टमी र सरस्वती पूजाको समयमा मूर्तिको माग हुने गर्दछ। यस वर्ष माघ २१ गते सरस्वती पूजा परेको छ।