मधेस प्रदेश सरकारले आज माघ ५ गते सातौँ बलिदानी दिवस मनाउँदै छ। अधिकार प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गरेका शहीद परिवार र अङ्गभङ्ग भएका तथा घाइतेलाई आर्थिक सहयोग र सम्मान गरेर सो दिवस मनाइने गरेको मधेस प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ। 
बलिदानी दिवस जनकपुरधामको महेन्द्र नारायण नीधि सांस्कृतिक प्रतिष्ठानमा मनाउनुका साथै जानकी मन्दिरमा सहिदहरूको सम्झनामा जानकी मन्दिरमा १ लाख दीप प्रज्वलन गर्ने गृह मन्त्रालयले मधेस प्रदेशले जनाएको छ।
बलिदानी दिवसलाई थप व्यवस्थित र भव्य बनाउने उद्देश्यले जनकपुरधाममा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रदेश सांसदहरूले सहिद परिवारलाई थप सेवा सुविधा उपलब्ध गराउन छुट्टै कानुन बनाउन सुझाव दिए।
प्रदेश सांसद कुमर कान्त झाले अहिले पनि सहिदको सपना पूरा हुन नसकेको बताए। उनले अधिकारको कुरामा अहिलेसम्म विभेद कायमै रहेको धारणा व्यक्त गरे। प्रदेश बनेको ७ वर्ष भइ सक्दा पनि कर्मचारी व्यवस्थापन गर्ने अधिकार प्रदेशसँग नभएकाले सहिदको सपनामा प्रश्न चिन्ह लागेको उनले औँल्याए।
त्यस्तै, सांसद जिवछी यादवले सहिदहरूको सूचीमा त्रुटि रहेको र केही वास्तविक सहिदको नाम सूचीमा समावेश गर्न छुटेको बताए। उनले त्यस्ता सूचीमा नाम समावेश हुन छुटेका सहिदहरूको नाम यथाशीघ्र समावेश गर्न सुझाव दिए। सांसद यादवे सहिद परिवारका सदस्यहरूलाई राजश्वमा शतप्रतिशत छुटको व्यवस्था गर्न सुझाव दिए।
त्यस्तै, सांसद श्याम पटेलले सहिद परिवारका सदस्यलाई आजीवन व्यवस्थापन हुने गरी कानुन निर्माण गर्न सुझाव दिए। उनले स्वास्थ्य सुविधा, शिक्षा, यात्रा गर्दा सहिद परिवारलाई निःशुल्क हुने गरी कानुन निर्माण गर्न आवश्यक रहेको औँल्याए।
अन्तरक्रिया कार्यक्रममा मधेस प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले अन्तरक्रिया कार्यक्रममा आएका सम्पूर्ण सल्लाह सुझावलाई मध्यनजर गर्दै बलिदानी दिवस भव्यताका साथ मनाउनुका साथै सहिद परिवारका सदस्यहरूका लागि थप सेवा सुविधा उपलब्ध गराउने गरी कानुन बनाउने आसवासन दिए। उनले यसमा सम्पूर्ण राजनीतिक दल र निकायहरूलाई साथ दिन आग्रह गरे।
२०६३ सालमा भएको मधेस विद्रोहको सम्झनामा प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस मनाउने गरेको छ। माघ ५ गते सिरहाको लहानमा रमेश महतोको गोली लागेर ज्यान गएपछि मधेसका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो। सो दिनलाई स्मरण गर्दै पूर्व मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश सरकारले विशेष कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउने निर्णय गरेको थियो।