बेलबारी, मोरङ। विगत लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था अर्किड बेलबारीले आज एक कार्यक्रमका बिच आफ्नो नवौँ वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।बेलबारी –२, लालभित्तीमा रहेको कार्यालयको परिसरमा सम्पन्न कार्यक्रमको उद्घाटन राष्ट्रिय बाल अधिकार परिषद् कोसी प्रदेश समन्वय प्रमुख सुमन अधिकारीले गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय बाल अधिकार परिषद् कोसी प्रदेश समन्वय प्रमुख सुमन अधिकारी, सुन्दरहरैँचा नगरपालिका १२ नं वडाका अध्यक्ष रोशनप्रसाद ढकाल, स्थानीय पत्रकार एवम् अनुसन्धानकर्ता केशु विरही, सीपीसीएसका कार्यक्रम संयोजक नवराज पोखरेल, सिंहदेवी आविका प्रधानाध्यापक ध्रुवकुमार दाहाललगायतका व्यक्तिहरूले मन्तव्य राखेका थिए।
२०७२ सालमा स्थापना भएको यस संस्थाले बालबालिकालाई शिक्षा, स्वास्थ्य, कनुनी सेवा, परामर्श तथा सामाजिक पुनस्र्थापना काम गर्दै आएको छ। कार्यक्रम बोल्ने सबै वक्ताले सीपीसीएस तथा अर्किडले गरेको कार्यको खुलेर प्रशंसा गरेका थिए। संस्थाले उत्कृष्ट कार्य गर्दै आएको र आगामी दिनमा संस्थाको कार्यक्रम अझ बृहत् र बालबालिका लक्षित भएर अघि बढोस् भन्दै शुभकामनासमेत प्रदान गरेका थिए।
संस्थाले आर्थिक वर्ष ८०/८१ मा बेलबारी नगरपालिकाका ७ ओटा सुन्दरहरैँचाका २ ओटा विद्यालयमा नर्स राखेर बालबालिकाको स्वास्थ्य सचेतनाको कार्यक्रम सञ्चालन गरेको थियो। संस्थाले हरेक विद्यालयमा बालबालिकाहरूलाई औषधि वितरण गर्ने तथा बालिकाहरूलाई प्याड तथा डिग्निटी किटको व्यवस्थापनसमेत गर्दै आइरहेको छ। विद्यालयमा स्वास्थ्य शिविर गर्ने तथा बालबालिकाहरूमा कुनै प्रकारको जटिल समस्या देखिएमा उनीहरूलाई सम्पूर्ण उपचार खर्चसमेत दिएर उपचार गर्ने गरेको छ। संस्थाले हरेक दिन संस्था परिषरमा नै ७५ जना बालबालिकाहरूलाई खाजा तथा ३० जना विधार्थीहरूलाई बिहानी ट्युसन कक्षा र खानाको समेत व्यवस्थापन गर्दै आइरहेको छ।
अर्किडले बालबालिकाहरूका लागि शैक्षिक सामग्री तथा उनीहरूको अवस्थालाई हेरेर खाद्यान्न तथा स्कुल ड्रेस लगायत आवश्यक सहयोगको समेत व्यवस्थापन गर्दै आइरहेको अर्किड बेलबारीको कार्यक्रम संयोजक रेवती तिवारी बताउँछन्। यस संस्थालाई सीपीसीएस नामक दाता संस्थाले सहयोग हुँदै आइरहेको छ।