नेपाल कम्युनिष्ट पार्टी (बहुमत) महासचिव धर्मेन्द्र बास्तोलाले नेपाल गरिब हुनुको प्रमुख कारण देशभित्र उत्पादन नहुनु रहेको बताएका छन्।
शुक्रवार काठमाडौँमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को ९ औँ महाधिवेशन उद्घाटन समारोहमा उनले देश गरिब हुनु र युवाहरू देशमा बस्न नचाहनुको कारण नै उपभोग गर्ने वस्तुको उत्पादन देशभित्र नहुनु रहेको बताए।
उनले भने, ‘आज अन्तर विरोध कहाँ छ भने, जसले उपभोग मात्र गर्छ उत्पादन गर्दैन त्यो कंगाल हुन्छ। सार कुरा यही नै छ। आज हाम्रो देश किन गरिब छ, आज हाम्रा छोराछोरीहरू किन विदेश गइरहेका छन्। देशमा बस्न रुचाइरहेका छैनन्। किनभने हामीले उपभोग गर्ने वस्तुको उत्पादन देशभित्र छैन। हाम्रो सङ्घर्ष त्यसैमा छ।’
नेपालमा दलाल पुँजीवादीहरूले उत्पादन बढाउनु भन्दा पनि निर्यात गर्ने कुरालाई बढी प्रोत्साहन गरिरहेको पनि उनको भनाइ छ।
यसका साथै उनले परम्परागत रूपमा चल्दै आएको भ्रष्टाचार र तस्करीलाई निरन्तरता दिने राज्यलाई खारेज गर्ने काममा अगाडि बढेको बताए।
उनले भने, ‘जनता मुक्तिका लागि ठुलो कदम उठाएका थियौँ र पार्टीलाई पुनः गठन गरेका थियौँ। साम्राज्यवादको एजेन्टको रूपमा काम गर्ने, झोला बोकेर हिँड्ने, साम्राज्यवादको अगाडि भिख माग्दै देशभित्र भ्रष्टाचार, तस्करी जुन परम्परागत रूपमा चल्दै आएको र त्यसलाई निरन्तरता दिने राज्यलाई खारेज गर्नुपर्ने थियो र हामीले त्यो काम गर्दछौँ।’