वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन (कोप २९) मा भएका कमजोरीलाई सुधार गर्ने र राम्रा पक्षहरूलाई अझै राम्रो बनाउने कोसिसमा रहेको बताएका छन्।
बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिमा भएको ‘विश्व जलवायु सम्मेलन (कोप २९) को समीक्षा र नेपालको आगामी कार्यदिशा’ बारेमा छलफलमा उनले कोपको तयारीको लागि छोटो समय प्राप्त भएको भन्दै कमी कमजोरी भएको कुरा स्वीकार गरेको बताए।
उनले भने, ‘कोपको बारेमा धेरै चर्चा भएको छ। यसलाई सहजताका साथ स्वीकार पनि गरेका छौँ। कमी कमजोरीलाई आगामी दिनमा सुधार गर्ने हाम्रो प्रतिबद्धता छ। र राम्रा पक्षहरूलाई अझै राम्रो बनाउने कोसिस पनि छ। कोपको तयारीको लागि छोटो समय भएको मेरो आफ्नो बुझाई छ। र छोटो तयारीमा कमी कमजोरी भएको कुरा स्वीकार गर्न चाहन्छु। म कुनै गल्ती नै भएको छैन भन्ने पक्षमा छैन।’
यसको साथै, उनले नेपाल सरकारले कोपमा जानको लागि कुनै बजेटको व्यवस्था नगर्ने हुँदा पनि समस्याहरू आएको बताए।
‘नेपाल सरकारले कोपमा जानको लागि कुनै बजेटको व्यवस्था गरेको हुँदैन रहेछ। राष्ट्रिय टोलीको लागि मात्र एउटा निश्चित बजेटको व्यवस्था हुने रहेछ। त्योभन्दा बाहेकका लागि विभिन्न विकास साझेदारहरूको माध्यमबाट जानुपर्ने परिस्थिति रहेछ। त्यो पनि सीमित मात्रामा बजेट हुने हुँदा सबैलाई सहभागी गर्न सकिएन,’ उनले भने।
अबको कोप ब्राजिलमा हुने भनेर निर्णय भएको र त्यसका लागि एउटा संयन्त्र बनाएर जाने कुरा पनि प्रधानमन्त्री समक्ष राखेको उनको भनाई छ।