खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका कारणले भूमिगत पानीको अवस्था एकदमै जीर्ण रहेको बताएका छन्। 
राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले २०७२ सालको भूकम्पपछि खानेपानीको संरचनामा जलवायु परिवर्तनका कारणले भूमिगत पानीको अवस्था एकदमै जीर्ण रहेको बताएका हुन्। 
उनले भने, ‘२०७२ सालको भूकम्पपछि खानेपानीको संरचनामा खास गरेर मुहानहरूमा जलवायु परिवर्तनका कारणले भूमिगत पानीको अवस्था एकदमै जीर्ण अवस्थामा पुगेको छ। तराई मधेसको कुरा गरौँ, जहाँ मेरो घर हो। त्यहाँ डेढ फिटमा पानी आउँथ्यो। तर अब हाम्रा मुहानहरू सुक्दै गएका छन्। तर ती मुहानलाई पनि फेरि सञ्चालनमा ल्याउन सकिने विज्ञहरूको सुझाव छ।’ 
मन्त्री यादवले भूकम्पीय जोखिम न्यूनीकरणको लागि व्यवस्थित बस्ती र सहरीकरणको अवधारणालाई लागू गर्नुपर्ने आवश्यक रहेको बताए।  
उनले भने,‘ भूकम्पीय जोखिम न्यूनीकरणको लागि व्यवस्थित बस्ती र सहरीकरणको अवधारणालाई लागू गर्न आवश्यक छ। अनैतिक सहरीकरणले भूकम्प जस्ता प्राकृतिक प्रकोपको प्रभाव बढाउँछ र आपतकालिन समयमा गम्भीर समस्या निम्ताउँछ। प्राकृतिक नियम र इन्जिनियरको सिद्धान्त विपरीत हचुवाको भरमा गरिने भौतिक संरचनाको विकासमा पूर्णरुपमा रोक लगाउनुपर्छ र प्राविधिक परीक्षण अनिवार्य रूपमा गरिनुपर्छ।’