रौतहट प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ४० जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट उनीहरूलाई  पक्राउ गरेको हो।
अदालतको फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना तोकिएका व्यक्तिहरूलाई खोजी गरी कारबाही अघि बढाइएको रौतहट प्रहरी निरीक्षक उमाशङ्कर प्रसादले बताए। 
उनका अनुसार पक्राउ परेका प्रतिवादीहरूमध्ये कतिपयले कर्तव्य ज्यान ,डाँका चोरी, कुटपिट, गाली बेइज्जती, किर्ते जालसाजी,आपराधिक जस्ता अपराध गरेका छन्।
कर्तव्य ज्यानमा ४, डाँका चोरीमा १, कुटपिट मुद्दामा ४, गाली गलैंज मुद्दामा १, गाली बेइज्जतीमा ९, कुटपिटमा ८ , किर्ते जालसाजीमा ६, बिगो १, नकबजनी चोरी १ र आपराधिक उपद्रय ३ जना पक्राउ परेको प्रहरीले उल्लेख गरेको छ। 
पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूमध्ये विनोद दासलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानासहित अदालतमा उपस्थित गराइएको छ। फरार रहेका अन्य प्रतिवादीहरूलाई पनि चाँडै पक्राउ गर्ने रौतहट प्रहरीले जानकारी दिएको छ।