रौतहट सहित मधेस प्रदेशका जिल्लामा केही दिनदेखिको कठ्याङ्ग्रिँदो चिसोका कारण अति विपन्न परिवार प्रभावित बनेका छन्। चिसो छल्न कतिपयले आगो बालेर ताप्ने गरेका छन्।
दाउराको अभावमा दक्षिणी भेगका ग्रामीण बस्तीमा परालको घुर बालेर ताप्ने गरिन्छ। चिसो छल्न आगो ताप्ने उद्देश्यले ग्रामीण भेगका गरिब तथा न्यून आय भएका बासिन्दामा वैकल्पिक ऊर्जाका रूपमा गुइँठाको पनि प्रयोग गर्दै आएका हुन्। गुइँठाको प्रयोगले खाना पकाउनुका साथै जाडोमा आगो ताप्न सहयोग पुग्ने स्थानीय गृहिणी बताउँछन्।
बनमा दाउराको अभाव रहेको र पाएमा पनि चर्को मूल्यमा खरिद गर्नु पर्ने बाध्यता भएकाले गृहिणीहरूले गुइँठा प्रयोग गर्दै आएको पाइन्छ। आगो ताप्नका लागि घुर लगाउन तथा चुलो बाल्न पनि गुइँठा प्रयोग गर्ने गरेको स्थानीय राम कलिया देवीले बताएकी छिन्। सुक्खा याममा गुइँठा बनाउने र हिउँदमा त्यसलाई जोहो गरी राखेर दाउराका रूपमा प्रयोग गर्ने गदछन्।
चिसोको कारण गौर सदरमुकाममा रहेका सरकारी कार्यालयमा काम गराउन आउने सेवाग्राहीको सङ्ख्यामा समेत कमी आएको छ। बिहान र बेलुका बाक्लो हुस्सुको कारण सवारी साधन चलाउन कठिनाइ भएको छ भने सडक दुर्घटना जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ। न्यानो तथा लुगा, कपडा खरिद गर्नको लागि कपडा पसलमा भिड लाग्ने गरेको देखिएको छ।
जाडो बढेकाले बालबालिका तथा वृद्ध वृद्धालाई ख्याल गर्न चिकित्सकहरूले सुझाव दिएका छन्। यसैबिच अत्यधिक चिसो बढेपछि रौतहटका अधिकांश पालिकाहरूले सामुदायिक विद्यालयहरू बन्द गरेका छन्।