मुगुको सोरुगाँउपालिकामा एक स्थानीय संस्थाले शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ। ग्रामीण सामुदायिक विकास संस्था (जि।एस।एस) मुगुले ३९ वटा सामुदायिक विद्यालयहरूको अवस्थामा सुधार ल्याउनको लागि विगत ५ वर्षदेखि सहयोग गर्दै आइरहेको छ।
ई.सि.डी कक्षा देखी ३ कक्षासम्म अध्ययनरत बालबालिकाहरूको व्यवस्थापनको लागि कक्षाकोठाको भुईसिलीङ, कक्षाकोठा हापसिलिङ, कुसन, पिफम, कार्पेट, सुज र्याक, बुक र्याक, टेबुल, बेन्च, शैक्षिक क्रियाकलापका आधारमा सिकाईका लागि शिक्षकहरूलाई तालिम, गोष्ठी, स्थानीय शैक्षिक सामाग्रीहरू, स्थानीय पाठ्य पुस्तक निमार्णमा सहयोग, विद्यालय सुरक्षा तथा सरसफाईका लागि शौचालय निमार्णमा उक्त संस्थाले सहयोग गर्दै आइरहेको हो।
खानेपानी निमार्ण तथा मर्मत, विद्यालय घेरबार तथा मर्मत, विद्यालय छाना मर्मत तथा निमार्ण, विद्यार्थिहरुको क्षमता विकासको लागि बालक्लव निमार्ण गरी अतिरिक्त क्रियाकलापहरू दैनिक,साप्ताहिक र मासिक रूपमा सञ्चालन गर्दै पुरस्कारको व्यवस्था समेत यो संस्थाले गर्ने गरेको छ।  
यसैगरी विपद् जोखिमको लागि विपद् प्रतिकार्य सम्बन्धीका सामाग्रीहरू सोरुगाँउपालिकाको समन्वयमा काम गर्दै आएपछि पछिल्लो समयमा सोरुगाँउपालिकामा रहेका सामुदायिक विद्यालयमा शिक्षा र स्वास्थ्य सम्बन्धी केही सुधार आएको ग्रामीण सामुदायिक संस्था (जि.एस.एस) मुगुका कार्यक्रम संयोजक बासु रावलले बताए।