रामेछापको सैलुङमा यस वर्षको हिउँदको पहिलो हिमपात भएको छ। 
सैलुङका साथै जिल्लाका अन्य उच्च पहाडी क्षेत्रमा यस पटकको पहिलो हिमपात भएको छ। जिल्लाको माथिल्लो हिमाली क्षेत्रमा मङ्गलवारबाट हिमपात सुरु भएको हो। 
दोरम्बा सैलुङ गाउँपालिकाको सैलुङ खोला खर्क क्षेत्रमा मङ्गलवार पहिलो पटक हिमपात भएको स्थानीय दावासाङ्बु शेर्पाले जानकारी दिए। मङ्गलवारबाट सैलुङमा बाक्लो हिउँ परेको छ। 
हिउँ परेसँगै सैलुङका डाँडा मनोरम र सेताम्मे भएका छन्। सैलुङमा हिउँ परेपछि हिउँ खेल्ने पर्यटकहरू त्यहाँ पुग्ने गर्दछन्। 
हिउँ परेपछि बालीनाली राम्रो उत्पादन हुने भन्दै स्थानीय किसान समेत खुसी भएका छन्। हिउँले खाएको माटो मलिलो हुने तथा जमिनमा ओस पस्ने भएकोले राम्रो उब्जनी हुने किसानहरू बताउँछन्।