पानी ट्याङ्की छ। घर घरमा धारा छन्। तर खानेपानी छैन। खानेपानीको अभावमा २० घर दलित परिवारसहित झण्डै ८० घरधुरी काकाकुल छन्। यो अवस्था हो गोल बजार नगरपालिका वडा नं. १ भुल्के गाउँको। 
२०७९ सालमा पुराना मेयर देवनाथ साहलाई प्रतिस्थापन गर्दै मेयर श्यामकुमार श्रेष्ठले गोल बजार नगरपालिकाको कुर्सी सम्हालेपछि भुल्केका जनताको मन रसाएको थियो। अब चाँडै शुद्ध खानेपानीले घाँटी भिजाउला भन्ने आशमा बसेका भुल्केबासी जनता त्यति बेला झन् उत्साही भए जब नगरपालिकाले पानी ट्याङ्की निर्माण र बोरिङ्ग जडान सुरु गरायो। ‘एक घर,एक धारा’को निर्माण कार्य पनि सुरु भयो। 
आर्थिक वर्ष २०७९/०८० मै गोल बजार नगरपालिका १ भुल्के गाउँमा ४० लाख रकम खर्चेर बोरिङ्ग जडान, पानी ट्याङ्की निर्माण र करिब ८० वटा धारा जडान कार्य सम्पन्न भयो। स्थानीय जनतालाई भनियो–‘अब एक दुई महिनामा थ्री फेज बिजुली ल्याएर समरसेवल मोटर चलाएर पानी वितरण गर्ने।’
आशै आशमा बसेका जनताले अढाई वर्ष समय व्यथित गरे। तर धारामा पानी आएन। धारामा पानी झर्ला र गाग्री भरी थापौँला भन्ने आशमा रहेकी ६० वर्षिया बिन्दी विक भन्छिन्,‘अब यो जन्ममा हुँदैन होला। धाराको पानी नखाई मरिन्छ होला।’
गाउँ घुमेर हेर्दा ८० वटा धारामा खिया लागेको छ। कतै धाराहरू बोराले छोपेर राखिएको छ। कतै टुटफुट भएको छ। पानी ट्याङ्की ठिङ्ग उभिएको छ। ७५ वर्षका कमान सिंह भन्छन्,‘खोइ के विकास आयो आयो। हेरेर चित्त बुझाउनु परेको छ। बोरिङ्ग चलाउँदा त लतत हिलो पो आयो। पानी आएन। तीन वर्ष भयो पानी कुरेको अझै झरेको छैन।’
खानेपानी उपभोक्ता समितिका अध्यक्ष फूलमाया विक भन्छिन्,‘आर्थिक वर्ष २०७९/०८० मा मेयर श्याम श्रेष्ठका छोरा सुमित श्रेष्ठले खानेपानी ट्याङ्की निर्माण र बोरिङ्ग जडान कार्य गराएका थिए। नामको लागि उपभोक्ता समिति निर्माण गरेर मेयर पुत्रले यो आयोजना आफ्नो हातमा लिएका थिए। उति बेलै बोरिङ्ग जडान असफल भएको थियो तर सफल भनेर भुक्तानी निकालियो। खानेपानी आयोजना भने अझैसम्म अलपत्र छ।’
खानेपानीको हाहाकार भोगिरहेका भुल्केका जनताले विगत अढाई वर्षमा दर्जनौँ पटक मेयर श्रेष्ठलाई भेटेर नयाँ बोरिङ्ग जडान गरी खानेपानी आयोजना सञ्चालनमा ल्याउन घचघच्याए। स्थानीय महेन्द्र यादव भन्छन्,‘मेयर श्रेष्ठलाई भेट्न जाँदा उनले अहिले तुरुन्तै दुई मिनेटमा काम सुरु गराइहाल्छु झैँ गर्छन्। अनेक तडकभडक देखाउँछन्। हाकिमलाई इन्जिनियरलाई फोन गर्छन्। तर हामी फर्केपछि जस्ताको त्यस्तै।’ 
वडा नं. १ का नेपाली कांग्रेसका नेता शरद राजा शाही भन्छन्,‘२१ औँ शताब्दी अर्थात् प्रविधिको युग। बजारमा पतालको पानी तानेर पहाडमाथि चढाइदिने समरसेवल मोटर उपलब्ध छ। गाउँमा बिजुली पनि पुगेको छ। बोरिङ्ग जडान गर्ने ठुला मेसिनहरू पनि बग्रेल्ती उपलब्ध छन्। शासन सत्ता इमान्दार हुने हो भने अब कुनै गाउँमा खानेपानीको हाहाकारको अवस्था रहँदैन। तर गोल बजार नगरपालिकाका शासकको पहिलो अभिष्ट विकास होइन। प्रथम प्राथमिकता कमिशनखोरी हो। त्यस कारण यो अवस्था आइलागेको हो। घर घरमा धारा छ तर खानेपानी छैन।’
नेकपा एकीकृत समाजवादीका नेता भेषराज ठकुरी भन्छन्,‘गोल बजार नगरपालिका वडा नम्बर १ भुल्के गाउँका जनताको लागि खानेपानी अझै सास्तीको विषय बनेको छ। कति पीडादायी छ यो अवस्था ? कल्पना गर्नुहोस् त १ घर अगाडि धारा छ। गाउँको सिरानमा पानी ट्याङ्की छ। तर पानी छैन। तीन वर्षदेखि यो बिजोग र सन्ताप हेर्दै बस्दै गरेका छौँ। मेयर श्याम कुमार श्रेष्ठलाई भोट दिएर जिताएको नतिजा भोग्दै छन् जनताले।’
नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र सिंह भन्छन्,‘दुर्योधन जस्ता चरित्रका पुत्रको वशीकरणमा परेका धृत राष्ट्र पिताको कमिसन मोहको परिणाम हो भुल्केको खानेपानी योजना। त्यति बेला नै बोरिङ्ग असफल भएको थाहा भएकै हो। तर भुक्तानी निकाल्न बोरिङ्ग सफल भएको नौटङ्की गरियो। पुत्रको व्यापार चलाउन भुल्केका जनताको कण्ठ सुकाइयो।’
भुल्केका स्थानीय महेन्द्र यादव भन्छन्,‘हामीले पटक पटक भन्यौ। यता उताको कुरा नगर, जवाफ देऊ किन धारामा पानी आएन ?’ तर अढाई वर्षदेखि गोल बजार नगरपालिका धाउँदा धाउँदा हाम्रो पिँडुला फतक्कै गल्यो। अहिले पुसमा फेरि नयाँ बोरिङ्ग जडान गर्न मेसिन त पठाइयो तर बोरिङ्ग सफल हुन सकेन। अर्को ठाउँमा बोर गर्दै छन्। के हुन्छ ? थाहा छैन।’