भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले शुक्रवारबाट सुरु गरेको ‘मध्यपुर महोत्सव’ आइतबार सम्पन्न भएको छ । महोत्सवबाट अपेक्षा गरेभन्दा बढी आम्दानी भएको बताइएको छ।
मध्यपुर नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरलाई पर्यटकीय गन्तव्यको रूपमा परिचित गराउने उद्देश्यले ‘मध्यपुर महोत्सव’ आइतबार महोत्सव सम्पन्न गरिएको बताएका छन्।
‘मध्यपुरलाई पर्यटकीय गन्तव्यका रूपमा परिचित गराउनका लागि २५ वर्षपछि गरिएको यो महोत्सव आइतबार सम्पन्न गर्‍यौँ। महोत्सवमा नगरका स्थानीय कला, संस्कृति र सम्पदाको प्रदर्शन गर्ने, स्थानीय मौलिक पेसा, परिकार र उत्पादनको प्रवर्द्धन भएको छ,’ उनले भने, ‘१०५ ठाउँमा घरेलु उत्पादनका सामानहरू राखिएको थियो।’
प्रमुख श्रेष्ठका अनुसार सोचे भन्दा बढी आम्दानी भएको छ। उनले भने,‘महोत्सवभरलाई तयार गरिएको परिकार महोत्सवको दोस्रो दिन नै सकिएको खबर पाएका थियौँ। सबै तथ्याङ्क आइसकेको छैन तर औसतमा महोत्सवको दोस्रो दिन दुई करोड बढीको व्यापार भएको छ।’
मेयर श्रेष्ठका अनुसार महोत्सवको अनुमानित लागत दुई करोड तीन लाख रुपैयाँ रहेको छ। उनले भने,‘महोत्सवको अनुमानित लागत दुई करोड तीन लाख रुपैयाँ हो। त्यसमा पालिकाले ६० लाख रुपैयाँ विनियोजन गरेको छ। प्रचारप्रसारका लागि नेपाल पर्यटन बोर्डले सात लाख रुपैयाँ दिएको छ। भने, अरू सबै रकम स्थानीय विद्यालय, सहकारीलगायतको प्रायोजन हो।’
योमरी, बारा, चटामरी, नेवारी खाजालगायत स्थानीय परिकारका राखिएका स्टलमा अवलोकनकर्ताको बढी भीड लागेको थियो। महोत्सवमा आकर्षण अ‍ैँला, छ्याङका साथै नेवारी परिकारका खानाका स्टलमा बढी देखिएको थियो।
महोत्सव अवधिभर नगरको ऐतिहासिक कला, संस्कृति, जात्रा, पर्व र सम्पदाको प्रदर्शन, स्थानीय मौलिक खाना, पेसा र उत्पादनको प्रवर्द्धन गर्दै मध्यपुरलाई स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यका रूपमा परिचित गराइएको थियो।