नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले पौष २० गते सातौँ साधारण सभा तथा तेस्रो राष्ट्रिय अधिवेशन गर्ने भएको छ। 
आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी सङ्घले काठमाडौँको भृकुटीमण्डपस्थित सभागृहमा गर्न लागेको जानकारी दिएको हो। 
कार्यक्रमको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुने पनि महासङ्घले जनाएको छ। 
साथै सङ्घले नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको विधान २०७४ तथा नेपाल सरकारको निर्वाचन प्रणालीले निर्दिष्ट गरे बमोजिम नै निर्वाचन सम्बन्धी प्रक्रिया अघि बढाएको र सोही बमोजिम निर्वाचन कार्य सुसम्पन्न गर्न अधिवक्ता अर्जुन अर्यालको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको जनाएको छ। 
निर्वाचन समितिले ९० पदका लागि उम्मेदवारी दिने मिति पुस १५ गते तोकेको छ भने अन्तिम उम्मेदवारको नामावली प्रकाशन पुस १७ गते ३ः३०मा सार्वजनिक गर्ने जानकारी गराएको छ।