वन तथा वातारणमन्त्री ऐन बहादुर शाहीले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्राणी उद्यान निर्माण गर्न आवश्यक रहेको बताएका छन्।
आइतबार राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाको २९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले अहिले बद्लिँदो परिवेशमा नयाँ ढङ्गले र परिवेशअनुसार काम गरिहरेको भन्दै चिडियाखानाको विकास र विस्तार गर्दै आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरमा एउटा उत्कृष्ट रूपमा प्राणी उद्यान निर्माण आवश्यक रहेको बताएका हुन्।
उनले भने,‘बद्लिँदो परिवेशमा नयाँ ढङ्गले र परिवेशअनुसार काम गरिहरेको अवस्था छ। अहिले प्रकृतिको जिम्मा लिने साथै जलवायु परिवर्तन र पर्यावरणको प्रभावलाई न्यूनीकरण गर्नेलगायतका कामहरू राष्ट्रिय प्रकृति संरक्षण कोषको जिम्मामा आएको छ। यो एउटा सफलता हो। चिडियाखानाको विकास र विस्तार गर्दै आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरकै एउटा उत्कृष्ट रूपमा प्राणी उद्यानको आवश्यक छ।’
उनले नेपाललाई प्रकृतिमय, पर्यटनको आकर्षणको केन्द्र र समृद्धिका बाटाहरू अगाडि पहिल्याउनका लागि वनसँग धेरै नाता र सम्भावना जोडिएको बताए। जलवायु परिवर्तनको चुनौतीमा नेपाल रहेकाले त्योसँग जुध्न सबैले गरेका पहलकदमीलाई अब कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ।
साथै उनले ललितपुर महानगरपालिकाबाट चिडियाखानाको व्यवस्थापनमा जुनसुकै अभिभावकत्व प्राप्त भएको भन्दै अझ यसलाई थप पुँजीकृत गरी नगरपालिकाको हितलाई निरन्तर अगाडि बढाउनका लागि कोषको सम्पूर्ण टिमले पनि मेहेनत गर्दै आएको बताए।