इँटाभट्टा उद्योगीहरूले विगत झैँ यस वर्ष पनि इँटा पोल्ने तयारी थालेका छन्। वातावरण मन्त्रालयको आग्रहलाई स्वीकार गर्दै उद्योगीहरूले केही ढिला गरी इँटाभट्टामा इँटा पोल्न आगो लगाउने तयारी गरेका हुन्। व्यवसायीले करिब पाँच महिना निरन्तर इँटा पोल्ने बताएका छन्। यसै सिलसिलामा २०४६ सालदेखि इँटा उद्योग चलाइरहेका भक्तपुर नगरपालिका–९ का नातिभाइ ह्योम्वाले इँटा पोल्ने कामको तयारी भइरहेको बताए। भक्तपुर इँटा उद्योग व्यवसायी सङ्घको अध्यक्ष समेत रहेका छन्।
काँचो इँटाको तयारीदेखि कारखानासम्म निर्माणको प्रक्रिया कसरी गरिन्छ ?
सुरुमा हामीले इँटालाई जम्मा गरेर राखेका हुन्छौ। त्यसलाई मेशिनले पेल्छौँ। त्यो पेलेको माटो इँटा बनाउनेहरूको खलमा लैजान्छौँ। त्यसपछिको इँटा बनाएर सुकाउने काम त्यही हुन्छ। त्यसपछि सुकेको इँटा भट्टामा ल्याउने काम गर्छौ।
भट्टामा इँटा पोल्ने काम कहिले हुन्छ, त्यसको उपयुक्त समय कुन हो ?
औद्योगिक प्रवर्द्धन बोर्ड, नेपाल इँटा उद्योग महासङ्घ र उद्योग मन्त्रालयको सहकार्यमा एउटा निर्णय भएको छ। नेपाल अधिराज्यभर नै अहिले वातावरणमा प्रदूषण बढ्ने भएकाले पुस मसान्तसम्म इँटा उद्योगमा आगो नलगाउनु भन्ने निर्देशन छ। वातावरण प्रदूषण हुने भएकाले पुससम्म इँटा उद्योगमा आगो नलगाउँदा ठिक होला भन्ने हाम्रो पनि बुझाइ छ।
पुस महिनामा धेरै हावा चलेको हुँदैन, सबै इटाभट्टाहरुमा एकै पटक आगो लगाउने हो भने यसले वातावरणलाई धेरै प्रभाव पार्ने हुँदा माघ लागेपछि मात्र काम सुरु गर्दा उपयुक्त हुन्छ। यही कुरालाई ध्यानमा राखेर माघ १ गतेदेखि भक्तपुर जिल्लामा भट्टाहरू सञ्चालन हुन्छन्।
भट्टामा आगो लगाउँदा के के विधिहरू अपनाउनु हुन्छ ?
पहिला इँटा उद्योगमा प्रविधि नजान्दा धेरै दाउरा बाल्ने गरिन्थ्यो। विगत २० वर्षदेखि कोइला सल्काउनलाई थोरै दाउरा प्रयोग गर्ने गरेका थियौँ। अहिले ग्यासको प्रयोग गर्ने गरेका छौँ। यसले दाउरा पनि बच्यो र वातावरणको हिसाबले पनि दाउराभन्दा ग्यास बाल्नु राम्रो हुन्छ जस्तो लाग्यो। खर्चको हिसाबले पनि दाउरामा धेरै खर्च हुन्थ्यो। ग्यास केही मात्रामा सस्तो पर्छ।
इटाभट्टा व्यवसायको अहिलेको अवस्था के छ ?
समग्र उद्योगको स्थिति नै ठिक छैन। समग्र व्यवसायी र व्यापारीहरू पनि समस्यामा छन्। आर्थिक क्रियाकलाप नै कम भइरहेको छ, इँटा उद्योग पनि त्यसमा अछुतो रहेन। उत्पादन भएका तीन–चार वर्षदेखिका इँटा स्टकमा छन्। बिक्री छैन। विक्री कम छ। रेट पनि राम्रो छैन। अन्य उद्योग जस्तो बन्द गरेर पनि राख्न सकिँदैन। जग्गा भाडामा हुन्छ, गाडीहरू छन्, कामदारहरू छन्। जसले गर्दा बाध्य भएर पनि चलाउनुपर्ने अवस्था छ। पोहोर साल ७५ दिन मात्र आगो लगाउने काम गर्यौँ। त्यसमा पनि इँटा खपत भएन। अहिले पनि हामीसँग धेरै स्टकमा छ। अहिले बजारमा इँटाको माग धेरै कम छ।
माग कम हुनुको मुख्य कारण के होला ?
अहिले निर्माण कार्य नै कम भएको जस्तो लाग्छ। धेरैजसो युवाहरू विदेश पलायन भएकाले काठमाडौँमा घर निर्माण नभएजस्तो लाग्छ। हाम्रो अनुमान पनि मान्छेको जनघनत्व र आयस्रोत नै कम भएर पनि घर बनाउने काम कम भएको जस्तो लाग्छ।
स्थानीय सरकारले उद्योगको लागि कस्तो व्यवस्था र सहयोग गरेको छ अथवा सहयोग पाउनु भएको छ कि छैन ?
स्थानीय सरकारले सहयोग गरेको छैन भन्न पनि मिल्दैन। तर सहयोग भन्दा पनि बढी दुःख पाइरहेका छौँ। स्थानीय सरकार आएपछि दुःख र झन्झट बढी भएजस्तो अनुभूति हुन्छ। किनभने हाम्रो उद्योग चलिरहँदा पनि यो ठाउँको माटो निकाल्न मिल्दैन, यस्तोउस्तो गर्नु हुन्न, भाडा तिरिरहेको जग्गाको माटो लिँदा पनि कर लिने जस्ता विभिन्न किसिमबाट नगरपालिकाले दुःख दिइरहेको छ। जनप्रतिनिधिहरू आएपछि धेरै समस्याहरू आइरहेका छन्। मेयरहरूले काम सुरु गर भनेर सिफारिस दिनुहुन्छ तर स्थानीयवासीले अवरोध गर्ने गरेका छन्। खुल्ला ठाउँमा गर्नुपर्ने काम हो, चोरेर गरेको काम होइन। विभिन्न समस्याहरू आएपनि समाधान गर्दै अगाडि बढेका छौँ। इँटा उद्योगहरू अब आधुनिक रूपमा अघि बढेका छन्। वातावरण संरक्षण गर्नको लागि पनि नयाँ प्रविधिमा गइसकेका छौँ। विगत आठ नौँ वर्षदेखि नयाँ प्रविधिमा अपनाएका कारण वातावरण प्रदूषण पनि कम भएको छ। चिम्नीले कालो धुवा फाल्दैन। अब नयाँ प्रविधि प्रयोग गर्दा, प्रदूषण जाँच गर्छौ र सरकारले तोकेको भन्दा पनि धेरै कम प्रदूषण हुने गर्छ। त्यसलाई पनि अझ कम गर्नको लागि अझै अध्ययन भइरहेको छ।
हालै इन्जिनियरहरूले इँटा उद्योगमा गर्न सकिने कामको डेमो गरेर देखाउनु भएको छ। यसलाई पनि धेरै मात्रामा गर्न सकिने हो भने अझ प्रदूषणलाई जिरोमा नै लान सक्छौँ।
भक्तपुरको चाँगुनारायण नगरपालिकामा मात्र भट्टाहरू बढी भयो, यसले असर पारेको छ भन्ने गुनासो छ। यसप्रति तपाईँको धारणा के छ ?
निश्चित रूपमा उद्योगमा काम गर्दा, अलिकति असर त हुन्छ। नगरपालिकामा मात्र भट्टा उद्योग हुनुको मुख्य कारण भनेको २०६१ देखि नै कुनै इँटा उद्योग दर्ता भएको छैन। नगरपालिकामा पहिला घरहरू थिएन, फाँट थियो। हामीले उद्योग सञ्चालन गरेको समयमा यहाँ कुनै पनि घर थिएन। त्यो बेलादेखि नै यहाँ काम गर्दै आएको हो। अहिले यहाँ जग्गा किनबेचले गर्दा बस्तीहरू बस्न आएको हो। तर चाँगुनारायण नगरपालिका मात्र होइन भक्तपुर जिल्लामा एक समयमा एक सय १८ वटासम्म इँटा उद्योग सञ्चालनमा थियो। अहिले सङ्ख्या घटेर ६०–६२ वटा पुगेको छ। त्यसमा पनि यसपालि ४०–४२ वटा मात्र सञ्चालन हुन्छ कि भन्ने अनुमान छ।
इँटा व्यवसाय सञ्चालनका लागि कस्तो कस्तो कच्चा पदार्थको आवश्यक पर्छ ?
कच्चा पदार्थ भन्दा मुख्य कुरा माटो नै हो। अहिले माटो नै सकिँदै गएको छ। बिना माटो इँटा उद्योग सञ्चालन हुँदैन। यसका साथै कोइला र भुस इन्धनको रूपमा प्रयोग गर्छौ। चिम्टाइलो खालको माटो हुन्छ। त्यसले इँटा बनाउँदा राम्रो र गुणस्तरको हुन्छ र त्यही माटोको प्रयोग पनि बढी हुन्छ। अहिलेका लागि भक्तपुरमा माटोको त्यस्तो कमी छैन। हामीले माटोको सदुपयोग गर्न सकेनौँ र माटो लिन जाने ठाउँमा समस्याहरू आइरहेको छ। काम नलाग्ने, खेती योग्य नभएको जग्गाबाट माटो निकाल्दा खेतीयोग्य पनि हुन्छ। त्यो घडेरीको रूपमा पनि प्रयोग हुन्छ। त्यस कारण निकाल्नै पर्ने माटो मात्र प्रयोग गरेका छौँ। भक्तपुर इँटा उद्योग छेउमा भने माटो छैन। अहिले छिमेकी जिल्लाहरूबाट पनि माटो ल्याउने काम भइरहेको छ।