राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले रवि लामिछानेको मुद्दा जसरी भ्रष्टाचारका सम्पूर्ण काण्डमा मुसिएका आरोपीहरुमाथि कारबाही हुनुपर्ने बताएकी छन्।
मंगरबार ललितपुर महानगरपालिकाको १०६ औँ वार्षिकोत्सवको अवसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले रवि लामिछानेको मुद्दामा गम्भिरताका साथ लागेको भन्दै यति संवेदनशील भ्रष्टाचारका मुद्दामा पनि देखाउने हो भने आज देशले अर्कै निकास पाउने बताइन्।
उनले भनिन्, ‘अहिले रवि लामिछानेको मुद्दामा जति गम्भिरताका साथ लागिएको छ यति नै संवेदनशील भएर भ्रष्टाचारका सम्पूर्ण काण्डमा मुसिएका आरोपीहरु माथि कारबाही र अनुसन्धान गर्ने हो भने आज देशले अर्कै निकास पाएको अवस्था हुन्थ्यो।’
यस्तै, उनले देशमा यो बाहेक अन्य थुप्रै महत्त्वपूर्ण मुद्दाहरु रहेको भन्दै जनताका मुद्धाहरु सम्बोधन गर्नको लागि पनि यसलाई छिटो समाधान गर्नुपर्ने बताइन्।
उनले भनिन्, ‘प्रहरीले निर्धक्क भएर अनुसन्धान गर्नु भए हुन्छ तर त्यो प्रमाण अदालतमा प्रस्तुत गर्नुपर्यो नि, यसलाई छिटोभन्दा छिटो अदालतमा लगेर समाधानतर्फ जानुपर्छ। जनताको मुद्दाहरु हेर्नको लागि पनि यसलाई छिटो समाधान गर्नुपर्छ। अदालतका विगतमा भएका निर्णयहरु पनि हामीले स्वीकार गरेका नै छौ तर यो कुरा अदालतमा नै पुगेको छैन भने हामी पूर्वाग्रही भएर टिप्पणी गर्न मिल्छ जस्तो लाग्दैँन।’
राजनैतिक प्रतिशोधका कारण नै यो मुद्दा चलिरहेको भन्दै विश्वभरको ध्यान यसमा हुँदा न्यायिक प्रक्रियामाथि नै प्रश्न उठ्न सक्ने पनि उनको भनाई छ।
उनले भनिन्, ‘यस विषयमा अहिले नै बोली हाल्न हतार हुन्छ, पहिला के हुन्छ हेरौँ। हामीलाई न्यायिक प्रक्रियामा विश्वास छ भनिरहेका छौँ। तर राजनैतिक प्रतिशोध कुन हदसम्म गइरहेको छ तपाईँहरूले देख्नु नै भएको छ। एउटा कपाल जतिको पनि प्रमाण भेटिएको छैन। एउटा सानो मात्र प्रमाण हुन्थ्यो भने यिनीहरूले छोड्दैन थिए। ६० दिनसम्म हल्लाएर राख्दैनन् थिए, देशभर घुमाएका छन्, अदालत पुग्न पाएको छैन, म्याद मात्र थपिएको छ। विश्वभरको ध्यान यसमा छ, यसले हाम्रो न्यायिक प्रक्रियामाथि कस्तो प्रभाव परिरहेको होला।’