उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पार्टीलाई भित्रैबाट सेन्ट्रल लेबलमा राख्नुपर्ने बताएका छन्।
आइतबार नेपाली काँग्रेसको १०० दिने अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मनदेखि नै पार्टीलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘काम गरे भनेर मात्र हुँदैन। हामीले पार्टीलाई भित्रैबाट सेन्ट्रल लेबलमा राख्नुपर्छ। मनदेखि नै पार्टीलाई केन्द्रबिन्दुमा राखेर काम गर्न सक्नुपर्‍यो। अहिले नेपाली काँग्रेस पार्टीमा चाहिँ अलिकति कमीकमजोरी के भइरहेको छ भन्दा खेरी नेपाली काँग्रेस त काँग्रेस नै हो। तर यो पार्टी पनि ए, बि, सी र डी को नाममा अगाडि बढिरहेको छ।’
साथै उनले ए र बि को लेबलमा नराखेर केन्द्रबिन्दुमै काँग्रेस पार्टीलाई लग्नुपर्ने बताए। उनले काँग्रेस पार्टीभित्रै इमानदार भएर अगाडि बढ्नुपर्ने बताए। 
उनले भने,‘ए र बि को लेबलमा पार्टीलाई राख्नु हुँदैन। हामीले काँग्रेसलाई अगाडि बढाउन किन नसोच्ने ? यो लिडरस्हरु आउँछन्, जान्छन् यो बेग्लै  कुरा हो। तर कुरा के हो भन्दा खेरी काँग्रेसलाई केन्द्रबिन्दुमा राखेर काँग्रेसलाई हित हुने काम चाहिँ अब हामीले गर्नुपर्छ। ’
यसैगरी, उनले निर्वाचन क्षेत्रको मतदाताहरुको मन दुखायो भने गाह्रो हुन्छ भन्ने कुरा सबै जनप्रतिनिधिहरुमा महशुस हुन जरुरी रहेको बताए।