नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरेको बताएका छन्।
माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले सरकारले बाढी पहिरोको क्रममा चरम लापरबाही गरेको उल्लेख गर्दै उद्धारमा जस्तै राहत र पुनर्स्थापनामा लापरबाही नगरोस् भनेर खबरदारी गरेको बताएका हुन्।
यो सरकार सुशासनका विरुद्ध बनेको, आफ्नै पार्टी पङ्क्तिलाई समेत ढाँटेर दलालको घरघरमा गएर रातको १२ बजे बनेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आज सय दिन पुग्दा नपुग्दै आफूहरुले गरेको आशङ्का सरकार आफैले पुष्टि गरेको बताए। 
आफूहरुले खबरदारी सभा राख्ने बित्तिकै सत्तारुढ दललाई एक ठाउँमा ल्याएर सडकबाट सरकारको विकल्प खोज्न थालिएको भन्दै होहल्ला गरिएको उल्लेख उनले भने, ‘हामीले सरकार ढाल्न खबरदारी सभा गरेका होइनौँ, बरु सरकार ढल्छ भनेर थप बेथिति र भ्रष्टाचारमा नजानुहोला भनेर खबरदारी गर्न मात्रै यो सभा गरिएको हो।’ माओवादीलाई सरकारको चिन्ता नभएको उल्लेख गर्दै उनले बरु आफूहरुले दलाल र पुँजीवादी दलहरुसँग सहकार्य गरेर गल्ती गरेको महसुस गरेको बताए।
भ्रष्ट र जाली नेताहरूसँग लागेर माओवादी पनि के के हो भन्ने जनतालाई परेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सरकार ढालेर आफूहरूलाई सच्चिन मौका दिएको बताए। अब आफूहरूलाई जनतामा फर्कने अवसर प्राप्त भएको उल्लेख गर्दै उनले जनताको पूर्ण मुक्ति नहुँदासम्म लडिरहने बताए।