माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले यो खबरदारी सभाको सन्देशलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।
शनिवार काठमाडौँमा आयोजित सरकार विरुद्ध खबरदारी कार्यक्रममा उनले सभाको सन्देशलाई गम्भीरतापूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने कुराको सङ्केत यही सभाले गरेकाले गम्भीर हुन चेतावनी दिएका हुन्।
उनले भने, ‘सरकारले खबरदारी सभाको सन्देशलाई गम्भीरतापूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने कुराको सङ्केत यही सभाले गरेको छ। म सरकारलाई गम्भीर रुपले लिन चुनौती दिन चाहन्छु। सरकारलाई हिजोको लापरबाही फेरि नदोहोरियोस् भनेर खबरदारी पनि दिन चाहन्छु। उद्धार, राहत र पुनस्थापनाको कामलाई जिम्मेवारीपूर्वक अगाडि बढाइयोस्।’
यसको साथै, उनले हामीलाई जे चिन्ता लागेको थियो आज सय दिन पुग्दा नपुग्दै त्यो चिन्ता सरकार आफैँले पुष्टि गरेको बताए।
उनले भने, ‘हामीलाई नयाँ सरकार बन्यो भनेर कुनै चिन्ता छैन। तर यो सरकार के का लागि बन्यो र कसरी बन्यो भनेर हेर्दा यो सरकार सुशासनका विरुद्ध बन्यो, यो सरकार भ्रष्टाचारी बचाउन बन्यो र यो सरकार रातको अँध्यारोमा आफ्नै पार्टी पङ्तीलाई समेत ढाँटेर षड्यन्त्रको तरिकाले बन्यो। सरकार दलालहरुका घर घरमा गएर रातको १२ बजे बन्यो, हाम्रो चिन्ता त्यहाँ छ भनेर मैले भनेको थिए। आज सय दिन पुग्दा नपुग्दै जे चिन्ता व्यक्त गरेका थियौँ त्यो पुष्टि भएको छ, सरकार आफैले पुष्टि गरेको छ।’
यस्तै, सरकार भ्रष्टाचारीहरूको रक्षाको लागि सुशासनका विपक्षमा बिचौलियाहरूको पक्षमा लागेको भन्दै यो सरकार आफै कुहिएर झर्ने उनको भनाई छ।
उनले भने, ‘तपाईहरु जसरी भ्रष्टाचारीहरूको रक्षाको लागि सुशासनका विपक्षमा बिचौलियाहरूको पक्षमा जाँदै हुनुहुन्छ तपाईहरु आफै कुहिएर झर्नु हुनेछ हामीलाई दोष दिन पाउनु हुने छैन। हामीले सरकार ढाल्नको लागि यो खबरदारी कार्यक्रम गरेको पनि होइन। हामीलाई राम्रो तरिकाले थाहा छ।’