जोसे मोरिन्होले फेनरबाचेसँग आफ्नो कार्यकाल पूरा भएपछि इंग्ल्यान्डको कुनै सङ्घर्षरत क्लबमा प्रशिक्षक बन्ने तयारी रहेको सङ्केत गरेका छन्।
युरोपा लिगको खेलमा म्यानचेस्टर युनाइटेडविरुद्ध रातो कार्ड पाएको घटनालाई उनले आलोचना गर्दै आफ्नो भावी योजनाबारे खुलासा गरेका हुन्।
मोरिन्होले भने, ‘फेनरबाचे छाडेपछि मैले युईएफए प्रतियोगितामा सहभागी नहुने कुनै क्लब रोज्नुपर्छ। त्यसैले, दुई वर्षपछि इंग्ल्यान्डको तल्लो स्थानमा रहेका क्लबहरूलाई प्रशिक्षक चाहिएको भए म तयार छु।’
मोरिन्होको यस अभिव्यक्तिलाई लिएर चर्चा सुरु भएको छ कि उनी इंग्ल्यान्ड फर्किएर सङ्घर्षरत प्रिमियर लिग क्लबलाई सुदृढ बनाउन चाहन्छन् टेलिग्राफले मोरिन्होका लागि इंग्ल्यान्डमा सम्भावित विकल्पहरूको चर्चा गरेको छ, जहाँ उनी आफ्नो विशेष शैलीमा क्लबलाई नेतृत्व गर्न सक्छन्।
वेस्ट ह्यामः
लण्डनस्थित वेस्ट ह्यामले लामो इतिहास र ठुलो फ्यानबेसका कारण मोरिन्होका लागि एक आकर्षक गन्तव्य हुन सक्छ। प्रशिक्षक जुलेन लोपेटेगी दबाबमा रहेका कारण मोरिन्हो त्यहाँको सम्भावित प्रशिक्षकको रूपमा देखा पर्न सक्छन्।
एभरटनः
एभरटनले कार्लो एन्सेलोटीलाई नियुक्त गरी पहिले नै एक ‘ग्यालाक्टिको’ प्रशिक्षकसँग काम गरिसकेको छ। सम्भावित नयाँ मालिक फ्राइडकिङ समूह र नयाँ स्टेडियमको योजनाले एभरटनलाई पुनः निर्माणको मौका दिन सक्छ।
क्रिस्टल प्यालेस:
मोरिन्होले क्रिस्टल प्यालेसको फ्यानहरूलाई धेरै माया गरेको बताउँदै लन्डनमा बस्न रुचि व्यक्त गरेका छन्। ओलिभर ग्लास्नरको खराब प्रदर्शनले मोरिन्होका लागि अवसर खुल्न सक्छ।
लेस्टर सिटीः
प्रिमियर लिग विजेता इतिहास बोकेको क्लब भए पनि, लेस्टर अहिले युवा र नयाँ प्रशिक्षकहरूलाई प्राथमिकता दिइरहेको छ।