राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले अन्तर व्यवस्थापिका संघका अध्यक्ष डा.तुलिया अक्सन एवम् महासचिव मार्टिन चुङगोङ सँग शिष्टाचार भेटवार्ता गरेका छन् । 

भेटमा नेपालको संघीय संसद र अन्तर व्यवस्थापिका संघ सँगको आपसी सहकार्य, सहयोग आदान प्रदान, लोकतन्त्रका लागि संसदीय भुमिका लगायतका विषयमा कुराकानी भएको थियो ।

भेटमा अध्यक्ष दाहालले आइपीयूका विभिन्न सभा तथा कार्यक्रमहरुले लोकतन्त्र, मानवअधिकार, लैङ्गिक समानता, युवा सशक्तिकरण, दिगो विकास लगायतका सवालमा संवाद, सहकार्य र असल अभ्यासहरुको आदान प्रदानबाट संसदीय भूमिका प्रभावकारी बनाउन सहयोग पुगेको बताए ।

अध्यक्ष दाहालले संसदीय अभ्यास थप परिस्कृत गर्न र लोकतान्त्रिक संस्थाहरु थप सुदृढ गर्न अन्तर व्यवस्थापिका संघ सँग आफूहरुले बलियो र घनिष्ट सहकार्य गर्न इच्छुक रहेको बताए । सो अवसरमा उनले आइपीयूसँग सिधा सम्पर्कमा रहन यसको सचिवालयमा नेपालको पनि सहभागिता गराउनतर्फ सोच्न आग्रह गरे ।

संविधान सभाबाट जारी संविधानमार्फत नेपालले महिला, अल्पसंख्यक, सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समावेशी र समानुपातिक प्रणाली अवलम्बन गरेको भन्दै अध्यक्ष दाहालले संघीय संसदमा ३३ प्रतिशत तथा प्रदेश र स्थानीय तहमा ४१ प्रतिशत महिलाहरु जनप्रतिनिधिको रुपमा सहभागी रहेको बताए ।

जनप्रतिनिधिमार्फत विश्वभरका मानिसले अनुभूत गरेका आवश्यकता, आकांक्षा एवम् समस्याहरु अभिव्यक्त गर्न सकिने साझा मञ्चको रुपमा अन्तर व्यवस्थापिका संघलाई आफूले बुझेको भन्दै अध्यक्ष दाहालले यसको गरिमा र महत्व विश्वमा झनै बढ्दै गइरहेको बताए । 

सो अवसरमा अन्तर व्यवस्थापिका संघका अध्यक्ष डा.तुलिया अक्सनले नेपालले विगतदेखि नै आइपीयूमा सक्रिय सहभागिता जनाएको भन्दै खुसी व्यक्त गरे ।  नेपालको संघीय संसदमा ३३ प्रतिशत महिला सहभागी हुनु निकै प्रशंसनीय रहेको भन्दै समावेशीकरणमा नेपालले राम्रो काम गरिरहेको बताए ।

आइपीयूको सचिवालयलाई अझैं व्यवस्थित बनाउन लागिरहेको भन्दै अध्यक्ष तुलियाले आइपीयू सचिवालयमा नेपाली प्रतिनिधित्व गराउन आफूले पहल गर्ने बताए । भेटमा नेपाली संसदीय प्रतिनिधिमण्डलका सदस्यहरुको पनि सहभागिता रहेको थियो ।