पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको सञ्चालनमा मारवाडी सेवा समितिबाट खोसिएको प्रति विभिन्न सङ्घसंस्थाले विरोध जनाएका छन् ।

काठमाडौँ महानगरपालिकाले गुण्डागर्दी शैलीमा पशुपति गौशाला धर्मशालामा कब्जा गरिएकोमा उनीहरूले आपत्ति जनाएका हुन् । 

हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा मारवाडी सेवा समिति र विभिन्न धार्मिक तथा सामाजिक सङ्घ संस्थाहरूबिच आयोजित विमर्श कार्यक्रममा उपस्थित प्रतिनिधिहरूले पशुपति गौशाला धर्मशाला माथिको आक्रमण मारवाडी समुदाय माथि मात्रै नभई हिन्दुहरूको आराध्य देव भगवान् पशुपतिनाथसँग सम्बन्धित पवित्र भूमि माथिको आक्रमण भएको आरोप लगाएका छन् । 

विश्वभरिबाट आउने हिन्दु श्रद्धालुहरूको बसोबास र भोजनको व्यवस्थापन सँगै गौशालामा गौ पालन हुँदै गरेको र झन्डै एक सय जना मिर्गौला रोगी को निःशुल्क डाइलेसिस भई रहेको अवस्थामा उक्त भवनलाई प्रचलित कानुन तथा विभिन्न समयमा भएको सम्झौता विपरीत महानगरपालिकालाई सञ्चालनको जिम्मा दिएकोप्रति उनीहरूको आरोप छ ।  

कार्यक्रममा उपस्थित पूर्व प्रधान न्यायाधीश गोपाल पराजुलीले पशुपति गौशाला धर्मशाला माथिको आक्रमण सामान्य कुरा नभएको र यसको पछाडि हिन्दु धर्ममा आस्था राख्नेमाथि षडयन्त्रको एउटा सानो सुरुआत भएको बताए ।

पशुपति क्षेत्र विकास कोष पछिल्ला केही वर्षदेखि इसाई मिसनरीहरूको भर्ती केन्द्र बनेको पराजुलिको भनाई रहेको छ। उनले कोषको जग्गामा चर्च र मस्जिद चलाउन दिने तर हिन्दुहरूले गौशाला चलाउँदा अवरोध गर्ने कुरा सह्य नहुने चेतावनी दिए ।

यस कार्यक्रममा उपस्थित पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष नरोत्तम वैद्यले पनि कोषका अहिलेका पदाधिकारीहरूले मारवाडी सेवा समितिलाई अनाहकमा दुःख दिएको बताए ।

कार्यक्रममा विश्व हिन्दु परिषद् नेपाल, विश्व हिन्दु महासङ्घलगायत एक दर्जन सङ्घ संस्थाका प्रतिनिधिहरू थिए । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानका महासचिव देवेश झाले बाहिरबाट घटना सामान्य देखिदा पनि भित्रबाट ठुलै षड्यन्त्र भएको बताए ।

उनले कोषका सदस्य सचिव मिलन थापाको भूमिका शङ्कास्पद रहेको बताउँदै मेयर बालेनको धर्मशाला कब्जा गर्ने कार्यशैली ‘गण्डा नाइके’जस्तै रहेको बताए ।