ईन्टरनेशनल ट्रान्स पोर्ट वर्कस फेडेरेशन ४६ औँ वर्ल्ड कांगे्रसको इलेक्टोरल बैठकले नेपालका अजय कुमार राईलाई विश्व कार्य समिति सदस्य पदमा पुनः निर्वाचित गरेको छ ।
अक्टोबर १३ बाट सुरु भएको ईन्टरनेशनल ट्रान्स पोर्ट वर्कस फेडेरेशन बेलायतको बैठकले राईलाई आगामी पाँच वर्ष अर्थात् सन २०२९ सम्मका लागि निर्वाचित गरेको हो । विश्व स्तरमा यातायाततर्फको टे«ड युनियन क्षेत्रमा क्रियाशील १२८ वर्ष पुरानो उक्त संस्थाले नेपाल ट्रेड युनियन काँग्रेसका महासचिव राईलाई पुनः निर्वाचित गरेको हो ।फेडेरेशनको सन् २०१८ मा सिंगापुरमा सम्पन्न वर्ल्ड कांगे्रसमा पहिलो पटक नेपालबाट राई नै विश्व कार्य समिति सदस्यमा निर्वाचित भएका थिए ।
लन्डनमा मुख्यालय रहेको फेडेरेशनको १४९ देशमा सञ्जाल छ । करिब दुई करोड सदस्य रहेको फेडेरेशनले नागरिक उड्डयन, पानी जहाज, रेल्वे, सडक, बन्दरगाह, पर्यटन, सहरी यातायात गरी नौ क्षेत्रका श्रमिकहरू समावेश छन् ।
विश्वभरका ७५० भन्दा बढी श्रमिक सङ्गठनहरू यस फेडेरेशनसंग आबद्ध रहेका छन् । फेडेरेशनले यातायात क्षेत्रका श्रमिकहरूको लागि विश्वस्तरमा अन्तर्राष्ट्रिय श्रमिक संगठन (आईएलओ), आईकाओ जस्ता संस्थाहरूसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय कानुन बनाउने ,श्रमिक हक अधिकारका लागि गतिविधिहरु सन्चालनगर्दै यातायात श्रमिक संगठनहरुलाई सशक्त बनाउने काम गर्दै आएको छ ।
निर्वाचित राई करिब ३२ वर्षदेखि नेपालको श्रमिक आन्दोलनमा क्रियाशील छन् । नेपालका श्रमिकहरूको मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउँदै आएका उनी नेपाल यातायात मजदुर सङ्घका प्रमुख सल्लाहकार समेत हुन् ।
।
अनौपचारिक क्षेत्रको श्रमिक युनियन नेपाल यातायात मजदुर सङ्घको तीन कार्यकाल अर्थात् १५ वर्ष अध्यक्ष रही राईले सो युनियनको नेतृत्व गरिसकेका छन् । अनौपचारिक क्षेत्रबाट आफ्नो ट्रेड युनियन राजनीति सुरु गरेका राईले पटक पटक विश्वस्तरमा पाइला राख्नु नेपाली श्रमिक आन्दोलनको उपलव्धीबम रुपकम लिनुपर्ने नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले प्रतिक्रिया दिए ।
विश्वभरबाट करिब दुई हजार श्रमिक नेताहरू समावेश रहेको अक्टोबर १३ बाट सुरु भएको प्रत्येक पाँच वर्षमा हुने ४६औँ वर्ल्ड कांगे्रसको समापन भने अक्टोबर १९ मा हुनेछ । त्यस्तै आगामी पाँच वर्षका लागि ब्रिटिस मूलका स्टिफन कटन तेस्रो अवधिका लागि महासचिवमा सर्वसम्मत निर्वाचित भएका छन् भने निर्वाचित विश्व कार्य समिति सदस्यहरूले अक्टोबर १९ मा अध्यक्षको चयन गर्नेछन् ।