कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीले नेपालमा करिब ६२ प्रतिशत परिवार कृषिमा संलग्न भएपनि खाद्य वस्तु आयात गर्नुपर्ने अवस्था रहेको बताएका छन् । 

सोमवार ४४ औँ विश्व खाद्य दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले खाद्यन्नको अभाव परिपूर्तीको लागि आयात गर्नुपर्ने अवस्था रहेको भन्दै नेपालमा अझै १३ प्रतिशत जनसंख्या तथा ४२ जिल्ला खाद्य असुरक्षाको अवस्थामा रहेका बताए । 

उनले भने, ‘नेपालमा करिव ६२ प्रतिशत परिवार कृषिमा संलग्न रहेको भएता पनि हामी खाद्यन्नको अभाव परिपूर्तीको लागि आयात गर्नुपर्ने अवस्थामा छौ । खाद्य सुरक्षा आज विश्व मानव समुदायको जीवन र मरणको मुख्य विषय हो । नेपालमा अझै १३ प्रतिशत जनसंख्या तथा ४२ जिल्ला खाद्य असुरक्षाको अवस्थामा रहेका हुन्छन् । जलवायु परिवर्तनका प्रभावहरु, आर्थिक मन्दि, असमानता लगायतका कारणले गर्दा गरिब र कमजोर जनतालाई गम्भिर रुपमा असर परेको छ ।’

उनले दिगो विकास लक्ष्य २०३० मा उल्लेख भएको लक्ष्य र भोकमारिको अन्त्य गर्ने कार्यका लागि आवश्यक नीति नेपालले पनि अनुसरण गरेको पनि बताए । 

उनले भने, ‘२०३५ सम्ममा नेपाललाई खाद्यमा आत्म निर्भर बनाउने लक्ष्य सहित कृषि विकास नीति २०७२ जारी गरिएको छ । दिगो विकास लक्ष्य २०३० मा उल्लेख भएको लक्ष्य र भोकमारिको अन्त्य गर्ने कार्यका लागि आवश्यक नीति नेपालले पनि अनुसरण गरेको छ ।’ 

यसको साथै, उनले नेपालमा खाद्य सुरक्षाको अवस्था राम्रो बनाउन संलग्न सबै कर्मशिल किसान एवम् श्रमिकहरु, कृषि उद्यामी तथा व्यवसायीहरु, अन्राष्ट्रिय संघ संस्था एवम् विकास साझेदारहरु, क्षेत्रिय संगठन र स्वदेशी संस्था तथा नागरिक समाज सबैमा नेपाल सरकारले गरेको प्रतिबद्धतामा ऐकेबद्धता जनाउदैँ सहयात्राको लागि अपिल गरेका छन् ।