राष्ट्रपति रामचन्द्र पौडेल समक्ष थारु आयोगले आर्थिक वर्ष २०८०\०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेश गरेको छ । 

राष्ट्रपति भवन शीतल निवासमा सोमवार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष   विष्णुप्रसाद चौधरीले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रदान गरेका हुन् । 

सो अवसरमा राष्ट्रपति पौडेलले संस्कृति व्यक्ति र समुदायको पहिचान र अपनत्व कायम राख्ने महत्वपूर्ण माध्यम रहेको बताए । थारू समुदाय मूलतः नेपालको तराई क्षेत्रमा युगौं देखि बसोबास गरी आएको र यो समुदायको आफ्नै भाषा, संस्कृति, भेषभूषा, परम्परा, सभ्यता र संस्कार रहेको उनको भनाइ थियो । ‘आदिवासी जनजातिका रूपमा रहेको यस समुदायको इतिहास, भाषा, लिपी, संस्कृति, परम्परा, कला, साहित्यका विषयमा अध्ययन गरिनु आवश्यक छ’ उनले भने ।