चाडपर्व नजिकिएसँगै खाद्य वस्तुहरुको मूल्य तीव्र गतिमा बढ्ने गरेको छ। 
आम उपभोक्ताहरु दैनिक उपभोग्य बस्तुको अभाव साथै मंहगीको सामना गरिरहेका हुन्छन्। यस्तो समस्याको अन्त्यका लागि सरकारले बर्सेनि ‘सुपथ मूल्य पसल’ खोल्ने गरेको छ। त्यहाँ बाहिरको भन्दा कम मूल्यमा उपभोग्य वस्तु बिक्री गर्ने गरिन्छ। 
सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी माघ २ गतेसम्म ४२ जिल्लाका ६५ स्थानमा पर्वोत्सव सुपथ मूल्य पसल सञ्चालन गरेको बताइन्। काठमाडौँ उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु र सूर्य विनायकमा कम्पनीले विक्री कक्ष सञ्चालित छन्।
उनले भनिन्, ‘यस वर्षको चाडपर्व लक्षित सुपथ मूल्य पसल हामीले असोजको ३ गतेदेखि सुरु गरेका हौँ र यो कार्यक्रम माघको २ गतेसम्म सञ्चालन गर्ने तयारी छ। पसलहरुमा दैनिक उपभोग्य सामानहरु दाल, तेल, नुन, चिनी, जस्ता खाद्य वस्तुहरू सुपथ मूल्यमा विक्री वितरण गर्ने गरेका छौँ। यस वर्ष देशभर करिब ४२ वटा जिल्लाका ३५ वटा स्थानहरुबाट पसलहरु सञ्चालन गरिरहेका छौँ। यसमा पनि काठमाडौँ उपत्यकामा चार वटा कम्पनीका आफ्नै विक्री केन्द्रहरुबाट सञ्चालन भएका छन् भने दुई वटा पालिकाहरुसँगको समन्वयमा सञ्चालन गरेका छौँ। यसमा दक्षिणकाली र चाँगुनारायण रहेका छन्।’
उनले दसैँ, तिहार, छठलगायत विभिन्न चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सहुलियत दरमा उपलब्ध गराउन सहुलियत पसल ल्याइएको जानकारी दिएकी छन्।
उनले सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल तथा दालमा प्रतिकिलो पाँच रुपैयाँ, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमी÷गेडागुडी, फापर दाना, चिनो, कागुनो र उवा जुम्ली मार्सीमा प्रतिकिलो दश रुपैयाँसम्म छुट पाउने पनि बताइन्।
उनले भनिन्, ‘कम्पनीबाट निर्धारण हुने मूल्य भनेको बजार मूल्यलाई नै पनि ध्यानमा राखेर नै निर्धारण गर्छौ र मूल्य बजार मूल्य भन्दा केही हदसम्म कम नै रहेको हुन्छ। त्यसमा पनि चाडपर्व लक्षित सहुलियत मूल्य पसल भन्दै गर्दा खाद्य वस्तु अनुसार पाँच रुपैयाँदेखि १० रुपैयाँसम्म प्रति केजी, प्रति लिटरमा छुटको व्यवस्था गरेको हुनाले बजारको मूल्य भन्दा कम नै छ।’
यसको साथै, सरकारले नेपाल भित्रै उत्पादन भएका सामानलाई बढी प्राथमिकता दिएको र पसलहरुमा राखिने सबै सामान देशभित्रकै उत्पादन भएको भन्दै  हिमाली भेगबाट च्याङ्ग्रा र त्यहाँको रैथाने बाली ल्याएको साथै तराई भेगबाट खाद्य ल्याएर विक्री गर्ने गरेको सुवेदीको भनाई छ। 
उनले विक्रीका लागि राखिएको सामानको गुणस्तर मापदण्डभित्र नै रहेको र यसको निरन्तर अनुगमन पनि हुने भएको हुनाले सरकारले विक्री गर्ने सामानको गुणस्तर राम्रो रहेको बताइन्। 
यसको साथै गुणस्तरहीन सामान विक्री भएमा त्यसलाई कारबाहीको दायरामा ल्याउने काम पनि गरिने छ। 
उनले भनिन्, ‘हामीले वितरण गर्ने खाद्यवस्तुहरु पूर्ण रुपमा गुणस्तरयुक्त नै छन्। जुन खाद्य वस्तु केन्द्रमा बिक्री गर्नको लागि खरिद गर्छौ। त्यो निश्चित मापदण्डभित्र बसेर खरिद गर्छौ। खाद्य वस्तुलाई भण्डारण गर्दा पनि निरन्तर रुपमा गुणस्तरलाई नियन्त्रण गर्नको लागि अनुगमन पनि गर्ने गरेको छ। बिक्री गर्ने क्रममा पनि गुणस्तरको हेरेर मात्र गर्ने भएको हुनाले गुणस्तरको कुनै समस्या छैन।’
यस वर्षको पसलको लागि सरकारले करिब तीन करोडको बजेट विनियोजन गरेको छ भने त्यसको दायरामा रहेर करिब ५० हजार क्विन्टल खाद्य विक्री वितरण गर्ने योजना बनाएको छ।  
उनले भनिन्, ‘यस वर्षको सुपथ मूल्य पसल सञ्चालनको लागि सरकारबाट करिब तीन करोडको बजेट विनियोजन भएको छ । त्यही बजेटको परिधिभित्र रहेर करिब ५० हजार क्विन्टल खाद्य विक्री वितरण गर्ने योजना बनाएका छौँ। यही बजेटबाट सम्भव भयो भने बढी सामान पनि वितरण गर्छौ।’
कम्पनीले अनलाइन अर्डर लिएर होम डेलिभरीको सेवा दिइरहेको छ तर सेवा भने काठमाडौँ उपत्यका, सुर्खेत र पोखरामा मात्र छ। पहिलो वर्ष खसी बोका, च्याङ्ग्रा धेरै आएको र ठुलो ठुलो आएको हुनाले विक्री राम्रो तरिकाले हुन सकेको थिएन भने यसपालि कम्पनीले पहिलाको सङ्ख्यालाई घटाएर एक हजार पाँच सय खसी बोका तथा तीन सय च्याङ्ग्रा काठमाडौँ ल्याएर थापाथलीबाट बिक्री गरिने जनाएको छ।
सुपथ मूल्य पसलबाट खरिद गर्ने ग्राहक उमेश राईले यस्तो सुपथ मूल्य पसलहरु खोल्नु राम्रो भए पनि यस्तो पसलको पहुँच गाउँ गाउँमा पुग्न नसकेको बताए। 
उनका अनुसार मुख्य बजारमा मात्र यसको प्रयोग सबैले गरेको छ तर यसबारे सबैलाई थाहा भएको छैन। 
उनले भने, ‘यस्तो पसलमा बाहिरको भन्दा सामान सस्तो नै पाइन्छ। यसको साथै गुणस्तरयुक्त सामान पनि पाइन्छ। चाडपर्वको बेला यस्तो पसल खोल्नु एकदमै राम्रो हो तर यस्तो पसलको बारेमा अझै सबैले बुझ्न सकेको छैन। मुख्य बजारमा यसको प्रयोग सबैले गरेको छ र यसबारे सबैलाई थाहा पनि छ तर देशको कुना कुनातिर अझै पनि पसल पुग्न सकेको छैन। खासमा भन्ने हो भने यस्तो पसलको आवश्यकता भनेको न्यून वर्गीयहरुको लागि हो। यस्तो पसल गाउँ गाउँमा पुग्न सक्यो भने सबैको लागि सहज हुन्छ होला।’ 
यसको साथै, यस्ता पसलहरु चाडपर्व लक्षित मात्र नभई सधैँको लागि सञ्चालनमा आउन सक्यो भने जनताहरुको लागि सहज हुने पनि उनको भनाई छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत भदौ २३ गते चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो। 
यसको साथै, साल्ट टे«डिङ कर्पोरेसनले असोज ७ गतेबाट सुपथ मूल्य पसल सुरु गरेको छ। कर्पोरेसनले उपत्यकामा ११ स्थान र तीन मोबाइल भ्यानसहित १४ स्थानमा सुपथ मूल्य पसल सुरु गरेको हो। कर्पोरेसनले चिनी प्रतिकेजी पाँच रुपियाँ, नुन प्रतिकेजी दुई रुपियाँ, खाने तेल, चामल, चिउरा र पिठोलगायतमा प्रतिकेजी सात रुपियाँका दरले छुट गरेको छ।
कर्पोरेसनले उपत्यकामा केन्द्रीय कार्यालय कालीमाटी, सतुङ्गल, बालाजु, गौशाला, कपन, कौशलटार, कोटेश्वर, जाउलाखेल, स्वयम्भुका बिक्री केन्द्रबाट ती वस्तु छुटमा उपलब्ध गराउँदै छ। उपत्यकाबाहिरका २२ जिल्लामा रहेका बिक्री केन्द्र र विभिन्न पालिकाबाट आएका माग आधारमा पनि सेवा दिन सकिने गरी तयारी गरिएको छ।