जल तथा मौसम विज्ञान विभागका अनुसार विगत एक घण्टाको अवधिमा सुनसरीको तरहरामा भारी वर्षा भएको छ। बिहान पौने आठ बजेसम्मको एक घण्टाको अवधिमा तरहरामा १३.४ मिलिमिटर वर्षा मापन भइसकेको छ। त्यहाँ २४ घण्टादेखि नै वर्षा भइरहेको छ।

त्यसैले जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सर्दु, सुनसरी खोला, बुढी खोला, खेसलिया खोला लगायत अन्य स–साना खोलामा आकस्मिक बाढीको तथा होचो भू-भागमा डुबानको जोखिम हुनसक्ने भएकाले सतर्क रहन अनुरोध गर्दै सूचना जारी गरेको छ।

सुनसरीको तरहरासँगै मोरङको केराबारी, हरैंचा, बाहुनी, उदयपुरको उदयपुरगढी, झापाको बाहुनडाँगी, दमक, अनारमणिविर्ता, इलामको कन्काई माईचुली, खोटाङ, भोजपुर लगायतका जिल्लामा पनि वर्षा भइरहेको छ।

मौसमविदहरुअका अनुसार आज दिउँसो कोशी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको पनि सम्भावना छ।

पानी पार्ने यो बादल भारतको आसाम, मेघालय हुँदै नेपाल प्रवेश गरेको छ। यो नेपालमा जति पश्चिम सर्दै जान्छ, त्यति कमजोर हुँदै जाने छ। यसको हल्का प्रभाव काठमाडौं उपत्यकासहित बागमती प्रदेश र गण्डकी प्रदेशसम्म पर्ने छ।

पूर्वानुमान अनुसार नै बागमती प्रदेशका सिन्धुपाल्चोक, नुवाकोट, भक्तपुर, मकवानपुर, गण्डकी प्रदेशको गोरखा तथा लुम्बिनी प्रदेशका पाल्पा र अर्घाखाँचीमा पनि हल्का वर्षा भएको छ।

काठमाडौंमा अहिले बादल लागिरहेको छ। तर दिउँसो भने हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदले बताएका छन्।

अहिलेको प्रणालीको असर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने खासै नपर्ने मौसमविदको भनाइ छ।