ग्लोबल युथ पार्लामेण्टले ‘राष्ट्रिय युवा संसद् २०२४–२०२६’ अभियानको घोषणा गरेको छ।
देशभित्रका र विदेशमा छरिएका युवालाई राष्ट्र निर्माणको महान् यज्ञमा हातेमालो गर्नका लागि ‘राष्ट्रिय युवा संसद्’ नामक अभियानको घोषणा गरिएको हो। 
मङ्गलवार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा एक भव्य समारोहकाबीच पूर्वप्रधानन्यायधीश सुशीला कार्कीको प्रमुख आतिथ्यतामा उक्त अभियानको घोषणा गरिएको हो। 
अभियानले युवालाई लोकतान्त्रिक प्रक्रिया र नेतृत्व भूमिकामा सशक्त र संलग्न गराउने, सामाजिक विकास र राष्ट्र निर्माणमा प्रतिबद्ध गराउने, जिम्मेवार र सक्रिय नागरिकको पुस्तालाई प्रवर्द्धन गर्दै युवालाई एकै ठाउँमा गोलबद्ध गर्नका लागि दुई वर्षसम्म अभियान चलाइने अभियानका संयोजक एवम् ग्लोबल युथ पार्लामेण्टका अध्यक्ष दिवाकर अर्यालले जानकारी दिए। 
‘अभियानले युवाको सशक्तीकरण, नेतृत्व विकास, र राजनीतिक तथा सामाजिक जागरुकतामा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा छ। अभियानले नेपालका १६५ निर्वाचन क्षेत्रबाट १÷१ जना सक्रिय युवालाई प्रोफाइल, सामाजिक प्रभाव र अनलाइन भोटिङको मिश्रित विधिबाट दुई वर्षका लागि चयन गर्नेछ। यस प्रक्रिया अन्तर्गत आगामी २०८२ साल वैशाख १ गते १६५ निर्वाचित गरी राष्ट्रिय युवा सांसदको घोषणा गरिनेछ,’ अर्यालले भने। 
कार्यक्रममा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले नयाँ पुस्ताले अब सरकार चलाउने लिड गर्नुपर्ने र पुरानो पुस्ताले विश्राम लिनुपर्ने बताइन्। हाल सत्तामा रहेकाहरुले युवा हुँदा क्रान्ति गर्नुभएको, आन्दोलन गर्नुभयो, जेलनेल भोग्नुभयो तर त्यो  गरेबापतमा उहाँहरुले  सदाबहार राजनीतिमा विरासत जस्तो गरेर बस्नु राम्रो नहुने बताइन्। 
अभियानको घोषणा कार्यक्रममा महानायक राजेश हमालले युवाले आफूमा भएको उर्जालाई कसरी प्रयोग गर्ने भन्नेमा सदैव सचेत हुनुपर्ने र आफ्नो धरातलीय यथार्थका बारेमा पनि जानकार हुनुका साथै आफ्नो धरातलबाट कसरी माथि उड्ने भन्नेमा सोच्नुपर्ने उनले बताए। 
वरिष्ठ पत्रकार एवं साहित्यकार डा. नवराज लम्सालले मुलुकका धेरै मान्छेहरु विभिन्न खाले अन्योलमा देखिएको बताए। प्रत्येक मान्छे कसरी सांसद, मन्त्री र प्रधानमन्त्री बन्ने भनेर मात्र सोचेको हुन्छ, तर सांसद मन्त्री र प्रधानमन्त्री भएपछि के गर्ने रु भनेर कसैले सोच्दैनन्, त्यसैले आजका युवामा भिजन हुनु आवश्यक रहेको उनले बताए।
बैकर्स मनोज ज्ञवालीले पुराना नेताहरुले धेरै सङ्घर्ष गरेर नेपाललाई यहाँसम्म पुर्‍याउनमा उहाँहरुको महत्त्वपूर्ण योगदान भएतापनि अब युवा पुस्ताले देशलाई हाक्नुपर्ने बेला आएको भन्दै युवाहरु तात्नुपर्ने बेला आएको बताए। राजनीतिक अस्थिरता र देशमा धेरै दल हुँदा पनि देशको विकासको गति लिन सम्भव नभएको ज्ञवालीले बताए। 
अध्यक्ष अर्यालले मुलुकले २००७ सालको क्रान्ति यता अनेक पटक राजनीतिक आन्दोलनको आरोह अवरोह ब्यहोरेपनि असल नागरिकलाई आर्थिक रुपमा सम्पन्न गराउने काम त्यस यताको सात दशकमा चित्तबुझ्दो ढङ्गले हुन सक्दा युवाहरुमा निराशा पलाएको, मुलुक आर्थिक सङ्कटले जर्जर बनेको, उत्पादनका मार्गहरु बढ्नुको साटो भएका उद्योगधन्दा बन्द भएको, निराशाको भट्टीमा जलेका युवा पाखुरी खाडीका मुलुकहरुमा श्रम बेच्न बाध्य भएको बताए।
उनले बिचार बोक्न सक्ने युवाहरु उच्च शिक्षाका नाममा युरोप, अमेरिका, अस्ट्रेलियातिर ‘ब्रेन ड्रेन’ का रुपमा भासिन विवश भएकाले अनेक व्यवस्था परिवर्तनले पनि बदल्न नसकेको देश र नागरिकको अवस्था उल्ट्याउन अब बल भएका पाखुरी र विचार भएका दिमागी युवा एक ठाउँमा जोडिनुको विकल्प नभएको बताए। 
अभियानका अभियन्ता निगम हुमागाईले सिंहदरबार, बालुवाटारसहितका शक्ति अखडाहरु उच्च वर्गको योजनामा भरिन थालेको र संसारकै गरिब जनताले तिरेको संसारकै मंहगो करबाट दलतन्त्रका आसेपासे र बिचौलिया वर्ग पोसिँदा विकास निर्माण बजेट सकाउने मेलोमा अडकिएकाले खबरवादीका लागि अभियान महत्त्वपूर्ण हुने बताए।
कार्यक्रममा अभियन्ता हुमागाईँ, अभियान्ताहरु केपी खनाल, टासी ल्याम्जो, सरोज बानियाँ, चिकित्सक डा. निकोलश भुसाल, वरिष्ठ अधिवक्ता रमण कर्ण, सन्तोष गिरी, मुस्कान खातुन, युवा उद्यमी श्रेया गिरी, चिकित्सक डा।राम्जी राम लगायतका युवाहरुले राष्ट्रिय युवा संसद् घोषणाले देश तथा विदेशमा रहेका युवाहरुलाई एक ठाउँमा जोडेर देश र देशव्यापीका लागि केही नयाँ गर्ने प्रतिबद्धता जनाए।
सन् २०१२ सालमा स्थापना गरिएको ग्लोबल युथ पार्लियामेन्टले विश्वभरमा ८६ देशका युवालाई जोडेर कार्यक्रम गरिसकेको छ।