सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारमा निर्माण गरिएको मोटरेबल पक्की पुल वि.सं. २०७९ पुसमा सञ्चालनमा ल्याइएको थियो। वि.सं. २०६९ चैत २३ गते सम्झौता भई १० वर्षपछि वि.सं. २०७३ चैत २२ गते निर्माण सम्पन्न भएको थियो।

खोटाङबाट तराईका जिल्लासँग सिधा सम्पर्क हुने दिक्तेल–गाईघाट खण्डको फोक्सिङटारमा निर्माण भएको उक्त पुल सञ्चालनमा आएको दुई वर्ष नबित्दै शनिबार आएको बाढीले बगाएको हो। खोटाङका नागरिकको दैनिकीसँग जोडिएको उक्त पुल बाढीले बगाएपछि पूर्वी तराईका जिल्लासँगको सिधा यातायात सेवा विच्छेद भएको हो। 

पुल निर्माणमा ठेकेदार कम्पनीको लापरबाहीका कारण ढिलासुस्ती हुँदा सात वर्षदेखि फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताए। सम्झौताको १० वर्षपछि निर्माण भएको पुल शनिबारको बाढीले बगाएपछि आवागमनमा पुनः समस्या भएको उनले उल्लेख गरे। 

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ डिजाइनको उक्त मोटरेबल पक्की पुल एक सय २० मिटर लामो थियो। 

फोक्सिङटारस्थित पुल बाढीले बगाएपछि जिल्लाको विकास १० वर्ष पछाडि धकेलिएको अध्यक्ष आचार्यले बताए। 'जिल्लामा प्रयोग हुने निर्माण सामग्री तथा दैनिक उपभोग्यवस्तु फोक्सिङटार पुल भएरै जिल्ला भित्र्याइन्थ्यो। पुल सञ्चालनमा आएको दुई वर्ष नबित्दै बाढीले बगायो,' उनले भने,'पुल बगाएपछि जिल्लाको विकास दश वर्ष पछाडि धकेलिएको छ। यसप्रति सम्बन्धित निकायले समयमा ध्यान दिएर यथाशीघ्र वैकल्पिक व्यवस्था गर्नु आवश्यक छ।'

दिक्तेल–गाईघाट खण्डको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रको काम अलपत्र छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको उक्त सडक कालोपत्रको काममा ठेकेदार कम्पनीले लापरबाही गर्दा अलपत्र परेको स्थानीयले आरोप लगाएका छन्।