निरन्तर परेको वर्षाले विभिन्न डेढ दर्जन बढी जलविद्युत आयोजनाहरुमा क्षति पुर्‍याएको छ।
बाढी र पहिरोका कारण निजी क्षेत्रका २० वटा आयोजनामा क्षति पुर्‍याएको छ। ती जलविद्युत आयोजनामा २ अर्ब ३१ करोड रुपैयाँ बराबरको क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) ले जनाएको छ।
इप्पानका अनुसार सबैभन्दा धेरै मान्डु हाइड्रोपावरद्वारा प्रवर्द्धित २२ मेगावाटको बागमती साना जलविद्युत आयोजनामा पुर्‍याएको छ। 
मकवानपुरमा रहेको उक्त आयोजनामा पावर हाउस पूर्ण रुपमा डुबेको छ भने बाँध क्षेत्रमा क्षति पुर्‍याएको छ। सो आयोजनामा करिब एक अर्ब रुपैयाँ बराबरको क्षति भएको हो।
माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्द्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजनामा २५ करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ।
उक्त आयोजनाको पावर हाउस डुबानमा परेको गरेको छ। सो आयोजना गत वर्षको बाढीले पनि क्षति पुर्‍याएको थियो।
सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्द्धित ३ मेगावाटको माई खोला क्यासकेड जलविद्युत आयोजनामा करिब ५ करोड र ९।६ मेगावाटको माई खोला जलविद्युत आयोजनामा करिब ७ करोड रुपैयाँ बराबर क्षति भएको इप्पानले जनाएको छ।
यस्तै, फेमे खोला जलविद्युत आयोजना १ मेगावाट, पाँचथर, (बाँध र विद्युतगृह पूर्ण रुपमा क्षति) करिब १० करोड रुपैयाँ, ५ मेगावाटको सिउरीखोला जलविद्युत आयोजनामा करिब दुई करोड, माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना (२१६ मेगावाट, नुवाकोटं) करिब १० करोड रुपैयाँ, हेवाखोला जलविद्युत आयोजना ५ मेगावाट (प्रस्तावित ९.९ मेगावाट) १० करोड, सभाखोला बी जलविद्युत आयोजना (१५.१ मेगावाट) मा ७ करोड, सभाखोला सी जलविद्युत आयोजनामा ३ करोड, लान्द्रुक मोदी जलविद्युत आयोजनामा ८ करोड, सुपर त्रिशूली जलविद्युत आयोजनामा २५ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
खानीखोला जलविद्युत आयोजना, २ मेगावाट, ललितपुर, पावर हाउस डुबेको, प्रसारण लाइनको टावर ढलेको, स्वीचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षत विच्छेद। करिब १० करोड रुपैयाँ बराबरको क्षति।
टुङ्गुन ठोस्ने जलविद्युत आयोजनामा करिब १५ करोड, माया खोलामा २ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
यता, लाङटाङ खोला जलविद्युत आयोजनामा बाँध, क्याम्प हाउस र पहुँच मार्गमा ठुलो क्षति भएको छ। क्षतिको रकम एकिन हुन बाँकी छ।
पाँचथर पावरद्वारा प्रवर्द्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजना, साहस ऊर्जाद्वारा प्रवर्द्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजनाको भने क्षति एकिन हुन बाँकी रहेको इप्पानले जनाएको छ।